सुर्खेत- नेकपा एमालेले प्रदेशसभाका समानुपातिक सांसदको नाम टुंगो लगाएको छ। प्रदेश नं ६ मा एमालेको भागमा ६ जना सांसद परेका छन्। सबै महिला नै सिफारिसमा परेका छन्।
नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल गरेपछि प्रदेश नं ६ का प्रत्यक्षतर्फका २४ मध्ये १४ सिट आफ्नो पक्षमा राखेको नेकपा एमालेले कुनै पनि स्थानमा महिलालाई उम्मेदवार बनाएन। महिला नेतृहरुले असन्तुष्टि जनाएपछि प्रत्यक्षतर्फ महिला उम्मेदवार नबनाएको एमालेले त्यसको ‘क्षतिपूर्ति’ भने समानुपातिकबाट गरेको छ।
प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ एमालेले पाएको ६ जना सांसदमध्ये सबै महिला परेका छन्। यो प्रदेशबाट १६ जना सांसदका लागि भएको समानुपातिकतर्फको निर्वाचनमा प्रदेशमा पहिलो भएको एमालेले ६ सिट पाएको छ। जसका लागि दैलेखकी मीनासिंह रखाल, जाजरकोटकी कौशिलावती खत्री, डोल्पाकी पद्मी क्वारी बोहोरा, सुर्खेतकी पद्मा खड्का, राजु नेपाली र रुकुमकी देवी ओलीलाई सिफारिस गरिएको छ।
१६ मध्ये ८ पुरुष र ८ महिलालाई समानुपातिकतर्फको उम्मेदवार बनाइएको थियो। यद्यपि प्रत्यक्षतर्फ महिला सांसद नभएकाले संविधानले तोकेअनुसार महिला प्रतिनिधित्व गराउनुपर्ने भएकाले समानुपातिकतर्फ सबै महिलालाई सांसदमा सिफारिस गरिएको जनाइएको छ।
यो प्रदेशबाट वसन्तकुमार विश्वकर्मा, कालो सार्की, गणेशबहादुर केसी, कृतिबहादुर चन्द, तर्कबहादुर बडुवाल, शिवप्रसाद उपाध्याय, गोरखबहादुर बोगटी र क्याल्बो थापा भोटे पनि समानुपातिकको बन्द सूचीमा थिए।
प्रदेश १, ३, ५ र ७ नम्बरबाट पनि महिलाहरुले मात्र प्रदेशसभामा समानुपातिक सांसद बन्ने अवसर पाएका छन्। एमालेमा समानुपातिकमा भने ४ जना पुरुष मात्र 'भाग्यमानी' बनेका छन्। प्रदेश नम्बर २ बाट रवीन्द्र बैठा, डा. मनोजकुमार सिंह तथा प्रदेश ४ बाट चन्द्रमोहन गौचन र मायानाथ अधिकारी गरी समग्रमा ४ पुरुष सांसद समानुपातिकबाट सांसद बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।