काठमाडौं- संसदमा विचारधीन विज्ञापन विधेयकमा क्लिन फिडको व्यवस्था गरेको विषयलाई नेपाल पत्रकार महासंघले सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिएको छ।
सरकारको आमसञ्चार नीति र पत्रकार महासंघले विभिन्न चरणमा अघि सारेको मागपत्र तथा पारित दस्तावेजहरुमा क्लिन फिड व्यवस्था लागु गर्ने विषय उच्च प्राथामिकतामा राखेको भन्दै उसले सकारात्मक प्रतिक्रिया रहेको जनाएको हो।
मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघले क्लिन फिडका सम्बन्धमा धारणा सार्वजनिक गरेको हो।
'क्लिन फिडले नेपाली सञ्चार माध्यमहरुको दिगो विकासमा महत्वपूर्ण सहयोग पुग्छ भन्ने महासंघको विश्वास छ। विज्ञापन विधेयकमा क्लिन फिड व्यवस्थागरि लागु गर्ने दृढता प्रर्दशन गरेकोमा महासंघ सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ,' विज्ञप्तिमा उल्लेख छ।
त्यसैबीच मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने हुँदा उक्त विधेयक फिर्ता लिई सरोकारवालाहरुसंग छलफल गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री विधेयक ल्याउन गरिएको महासंघको आन्दोलन जारी रहेको बताइएको छ।
जेठ ११ गते बुधबार तेस्रो चरणको आन्दोलन अन्तर्गत अपराह्न ३ बजे बसन्तपुरमा कविहरुको कविता वाचन र काटुर्निस्टहरुको कार्टुन चित्र प्रर्दशनी आयोजना हुदैंछ।
महासंघ आन्दोलनरत पक्षसंग वार्ता र संवादका माध्यमबाट समस्या समाधान गर्न सरकारसंग पुनः आग्रह गर्दछ।
साथै महासंघको घोषित आन्दोलनमा सक्रिय सहभागी हुन आमसञ्चारकर्मी, सञ्चारसम्बद्ध संघसंस्था, पेशाकर्मी नागरिक समाज र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुसंग हार्दिक आव्हान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।