काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेश जारी गर्ने तयारी गरेकी छिन्।
सरकारले कात्तिक १ गते पठाएको अध्यादेश राष्ट्रपतिले परामर्शका लागि भन्दै अहिलेसम्म रोकेर राख्दा निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गर्न सकेको छैन।
एमालेले राष्ट्रियसभाको निर्वाचन एकल संक्रमणीय प्रणालीमार्फत गर्ने प्रस्तावप्रति गम्भीर आपत्ति जनाउँदै विधेयक जारी नगर्न दबाव बढाएको छ। यस्तै, सरकारको नेतृत्वकर्ता दल नेपाली कांगेस, मधेसकेन्द्रित दल र विभिन्न कानुन व्यवसायीले अध्यादेश रोक्नुमा राष्ट्रपतिको दुर्नियत देखिएको भन्दै आपत्ति जनाएका छन्। माओवादी केन्द्रले भने मध्यमार्गी धारणा राख्दै आएको छ।
अध्यादेशबारे सबै दलसँग परामर्श गरेकी राष्ट्रपति भण्डारीले बिहीबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समेत छलफल गरेकी थिइन्। अध्यादेश विवादले नयाँ सरकार गठन लगायत राजनीतिक प्रक्रिया नै अवरुद्व बनेपछि दाहालले त्यसको निकास दिन राष्ट्रपतिलाई आग्रह गरेका थिए।
‘अध्यादेशबारे दलहरुबीच आम सहमति होस् भनेर मैले रोकिराखेकी हुँ। तर यसकै कारण सरकार गठन लगायत सबै प्रक्रिया अवरुद्ध बन्न पुगेको सन्दर्भमा अब यसलाई रोकिराख्नु उचित हुँदैन भन्ने निष्कर्षमा पुगेकी छु। तपाईंले मलाई सहयोग पुग्नेगरी दलहरुसँग समन्वय गरिदिनुहोला’, राष्ट्रपति भण्डारीले प्रचण्डलाई भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो।
राष्ट्रपतिले रोकिराखेको अध्यादेश जारी गर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा बिहीबार मात्र रिट निवेदन दर्ता भएको छ। सम्भवतः शुक्रबार यसको सुनुवाइ हुनेछ। त्यसकारण पनि अध्यादेश जारी गर्न राष्ट्रपतिमाथि दबाव सिर्जना भएको हो।
अध्यादेश रोक्दा झन् विवादमा पर्ने भन्दै राष्ट्रपति भण्डारीले निकासका लागि कदम चाल्न लागेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ। राष्ट्रपति भण्डारी चाँडै अध्यादेश जारी गर्ने मनस्थितिमा पुगेको कार्यालय स्रोतले बतायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।