काठमाडौं– रन–वे पिच परिर्वतन (रिह्याबिलिटेसन)का कारण चैत १८ गतेदेखि दैनिक बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जुलाई १ अर्थात् असार १६ गतेबाट पुन २१ घन्टानै सञ्चालनमा आउने भएको छ।
रन–वे पिच परिवर्तनको काम सुरु भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयले 'नोटाम' जारी गर्दै दैनिक १० घन्टा विमानस्थल बन्द गर्दै आएको थियो। रन–वे पिच परिवर्तनको काम सुरु हुनभन्दा अगाडि विमानस्थल दैनिक बिहान ६ बजेदेखि राति ३ बजेसम्म सञ्चालन हुँदै आएको थियो। साथै बिहान ६ बजेबाट उडान सुरु भए पनि विमानस्थलको गेट भने बिहान ५ बजे खुल्थ्यो।
सन् १९७५ को दशकमा निर्माण भएको रन–वेको पिचमा खराबी देखिएसँगै प्राधिकरणले सन् २०१५ मै रन–वेको पिच परिर्वतन परियोजनको थालनी गरेको थियो। तर, लामो समयसम्म रोकिएको सो काम सन् २०१९ मा आएर मात्रै सुरु भएको हो। ३ हजार किलोमिटर लामो रन–वेको पिच परिवर्तनको जिम्मा चिनियाँ सरकारी कम्पनी चाइना नेसनल एरो ट्रक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पाेरेसनले पाएको थियो।
.jpg)
कम्पनीले पहिलो चरणमा चैत १८ गतेबाट रन–वेको पिच परिवर्तनको काम थालेको थियो। कम्पनीले पहिलो चरणमा रन–वेको सेन्टर लाइनको पिच परिर्वतनको काम गरेको थियो। दैनिक ८० मिटरका दरले पिच परिर्वतन गर्ने लक्ष्यसहित काम थालको निर्माण कम्पनीले निरन्तर काम भने गर्न पाएको थिएन। काम सुरु गरेसँगै केही दिन निर्माण कम्पनीलाई वर्षाले पनि असर गरेको थियो।
निर्माण कम्पनीले ४५ दिनमा रन–वेको पिच परिर्वतनको काम सक्ने लक्ष्य लिए पनि वर्षातका कारण ९० दिनभित्र मात्रै रन–वे पिच परिर्वतनको काम सम्पन्न गर्नसक्ने अवस्थामा आइपुगेको हो। हालसम्म सेन्टर विन्दुको २० मिटर (सबैभन्दा बढी संवेदनशील) क्षेत्रको पिच परिर्वतनको काम सकिएको आयोजना प्रमुख बाबुराम पौडेलले जानकारी दिए।
‘अब सेन्टर विन्दुको २० मिटरभन्दा बाहिरको दायाँ–बायाँ क्षेत्रको १२ सय मिटरको पिच परिर्वतन गर्न बाँकी छ’, उनले भने, ‘वर्षाले समस्या नदिएको अवस्थामा ४/५ दिनमै पिच परिर्वतनको काम सकिन्छ।’
रन–वेको पिच परिर्वतनको काम सकिएसँगै निर्माण कम्पनीले दोस्रो चरणमा ट्याक्सी-वेको पिच परिवर्तनको काम थालनी गर्ने उनको भनाइ छ। तर, यसका लागि भने केही महिना पर्खनुपर्ने हुन्छ। निर्माण कम्पनीले वर्षायाम सकिएसँगै ट्क्यासी-वेको पिच परिवर्तनको काम थाल्ले उनको भनाइ छ।
.jpg)
चिनियाँ निर्माण कम्पनीसँग करबाहेक ३ अर्ब ७५ करोड रुपैयाँ र करसहित ४ अर्ब २७ रुपैयाँमा पिच परिवर्तनका लागि प्राधिकरणले सम्झौता गरेको थियो।
पिच परिवर्तनका लागि सन् २०१४ मै स्पेनिस कम्पनी ‘आइसा’ले विमानस्थल रन-वे सुधारका लागि डिजाइन तय गरेको थियो। तर, सन् २०१५ को भूकम्पपछि विमानस्थलमा देखिएको प्राविधिक समस्यासँगै विमानस्थल कार्यालयले ‘डिजाइन रिभ्यू’का लागि कोरियन योसिन इन्जिनियरिङ कम्पनी छनोट गरेर काम गरेको थियो।
परामर्शदाताकै रिपोर्टका आधारमा कार्यालयले रन-वे सुधारका लागि ग्लोबल टेन्डर गरेको थियो। टेन्डरमा ११ वटा कम्पनीले काम गर्ने इच्छा देखाए पनि परामर्शदाता र टेन्डर मूल्यांकन कमिटीले ४ कम्पनीलाई मात्रै प्राविधिक रूपमा सक्षम भनेर छनोट गरेको थियो।
यसमा चाइना रेलवे नम्बर फाइभ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिडेड, चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसन, चाइना हार्बर इन्जिनियरिङ कम्पनी लिमिडेड र बेइजिङ चाङ्दो म्युनिसिपल इन्जिनियरिङ ग्रुप कम्पनी थिए।
सोही ४ कम्पनीबाट चाइना नेसनल एरो ट्रक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पाेरेसन छनोट भएको थियो।
.jpg)
पूरा रन-वेको पिच परिवर्तन गर्न १८ महिना लाग्ने भए पनि पहिलो चरणमा सबैभन्दा बढी समस्या रहेको रन-वेको मात्रै पिच परिवर्तन गरिएको पौडेलले जानकारी दिए।
जसमा पनि विमानस्थलको कोटेश्वरतर्फको ०२ रन-वेको १६ सय मिटरमा बढी समस्या देखिएको थियो। पिच परिर्वतनको समयमा रन-वेका कतिपय ठाउँको ४३ सेन्टिमिटरसम्म माटो निकालेर नयाँ पिच हालिएको छ।
ट्याक्सी-वेको कतिपय स्थानमा ५३ सेन्टिमिटरसम्मको संरचना परिवर्तन गर्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए। पिच परिवर्तनका लागि निर्माण कम्पनीसँग सम्झौता भएको ४ महिनासम्ममा रन-वेको काम गर्ने र त्यसपछि मात्रै ट्याक्सी-वेको पिच परिवर्तनको काम गर्ने गरी सम्झौता भएको थियो।
यो पनिः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।