ललितपुर- जावालाखेलमा विप्लव समूहले राखेको भनिएको शंकास्पद वस्तु स्कुल ब्याग रहेको पुष्टि भएको छ।
महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार मंगलबार बिहान ५ः५५ बजेको समयमा लललितपुरमहानगरपालिका-४, जावलाखेलस्थित प्रेरा कम्प्लेक्सको भूइँ तलाको उत्तरतर्फ रहेको आयुषा फास्टफुड रेष्टुरेण्ट एन्ड बारको पेटीमा भेटिएको शंकास्पद वस्तु स्कुल ब्याग रहेको खुलेको हो।
'विप्लव' समूहले शंकास्पद वस्तु राखेको सूचनाका आधारमा नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंकास्पद झोला जावलाखेल फुटवल ग्राउन्डमा लगी डिस्पोज गर्दा उक्त झोलामा नवप्रभात माध्यामिक विद्यालय, पुल्चोक, ललितपुरमा कक्षा ९ मा अध्ययनरत छात्र निशान काफ्लेको किताब र कापीहरु रहेको पाइएको परिसरका प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिए।
अनुसन्धानका क्रममा काफ्लेले सोमबार बेलुका आमासँग ठेलागाडामा सामान बेच्ने क्रममा उक्त स्कुल ब्याग सोही स्थानमा बिर्सिएको खुल्न आएको उनले बताए।
आज नेत्रविक्रम चन्द 'विप्लव' समूहले आयोजना गरेको नेपाल बन्दमा क्रममा शंकास्पद वस्तु फेला परेकोले सो क्षेत्र केही समय सशंकित बनेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।