काठमाडौं– प्रदेशसभाको समानुपातिकतर्फ आयोगले तोकेको सिट संख्यामा दलहरुले नाम बुझाउन थालेका छन्।
प्रदेश नम्वर ३ मा विवेकशील साझा र नेपाल मजदुर किसान पार्टीले आफ्ना उम्मेदवारको नाम आयोगलाई सिफारिस गरेका छन्।
विवेकशील साझाले प्रदेश ३ मा ३ सिट पाएको छ भने नेमकिपाले १ सिट प्राप्त गरेको छ। विवेकशील साझाले प्रदेशसभाको समानुपातिक सांसदका लागि शोभा शाक्य, रमेश पौडेल र विराजभक्त श्रेष्ठको नाम सिफारिस गरेको छ।
यस्तै, नेमकिपाले विद्यार्थी नेतृ सिर्जना सैंजुको नाम सिफारिस गरेको छ। सैंजु पार्टीको भातृ संगठन क्रान्तिकारी विद्यार्थी संघ र आस्था सांस्कृतिक परिवारमा आबद्ध छिन्।
समानुपातिकबाट पहिलो संविधानसभामा २३ वर्षीया लिला न्याइच्याईलाई सभासद् बनाएको नेमकिपाले २०७० को दोस्रो संविधानसभामा ३२ वर्षीया अनुराधा थापालाई सभासद् बनाएको थियो। यसपटक नेमकिपाले थ्रेसहोल्ड कटाउन नसकेका कारण प्रतिनिधिसभामा भने समानुपातिक सिट पाएन।
यसैबीच, प्रदेशसभामा समानुपातिकतर्फ सांसद सिफारिसका लागि नेकपा एमालेले स्थायी समिति बैठकमा छलफल भएको छ। तर, एमालेले नाम टुंगो लगाइसकेको छैन। यस्तै, नेपाली कांग्रेसले पनि प्रदेशसभातर्फ समानुपातिक सांसदको नाम टुंगो लगाउन शुक्रबार बालुवाटारमा कार्यसम्पादन समितिको बैठक बोलाएको छ। यसैगरी, माओवादी केन्द्रले पनि सांसदको टुंगो लगाउन आन्तरिक गृहकार्य गरिरहेको छ। राष्ट्रिय जनता पार्टीले प्रदेशसभाका समानुपातिक सांसदको नाम शुक्रबार बुझाउने जनाएको छ।
निर्वाचन आयोगले पुस ७ मा दलहरुले प्रदेशसभातर्फ प्राप्त गरेको समानुपातिक सिट संख्या सार्वजनिक गरेको थियो। दलहरुले त्यसको ७ दिनभित्र अर्थात् पुस १५ भित्र सांसदको नाम सिफारिस गरिसक्नुपर्नेछ। आयोगले दलहरुले पठाएको नामलाई रुजु गरेर एक सातामा सार्वजनिक गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।