काठमाडौं- ५ थान हतियार तिनमा प्रयोग हुने गोलीसहित प्रहरीले विप्लव समूहका ३ जना कार्यकर्तालाई मोरङबाट पक्राउ गरेको छ।
बेलबारीबाट खटाईएको प्रहरी अधिकृतसहितको टोलीले आइतबार साँझ बेलबारी नगरपालिका-४ स्थित स्कुलडाँडाबाट पक्राउ गरेको जानकारी दिइएको छ।
हातहतियार देखाई विभिन्न व्यक्ति संघ संस्थाहरुबाट धम्की देखाइ चन्दा असुल्न खोजिरहेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। को १७ प ४५८६ नम्बरको मोटरसाईकलमा सवार व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका-१२ बस्ने ४० वर्षीय अशोक राई र जिल्ला मोरङ कानेपोखरी गाउँपालिका-६ बस्ने ३४ वर्षीय सुदिप भन्ने कंश धिमाल रहेका छन्। प्रतिवन्धित विप्लव समूहसँग आबद्द रहेको खुलेकोले पक्राउ गरिएको प्रहरीको दाबी छ।
प्रारम्भिक अनुसन्धान गर्दा उनीहरुले हतियार लुकाएको खुलेपछि कंश धिमालको घरमा लुकाई राखेको अवस्थामा अटोमेटिक पेस्तोल (हतियार) नाल-२, ऐ.मा फिट हुने म्याग्जिन थान-४ र सोमा लाग्ने गोली १४ (चौंध) राउन्डसमेत बरामद भएको छ।
पक्राउ परेका अशोक राई जिल्ला जनपरिषद् प्रमुख रहेको तथा कंश धिमाल विप्लव समूहका सक्रिय कार्यकर्ता भएको बताइएको छ। कंश धिमाल भने २०६६ सालमा उर्लावारी मंगलबारेस्थित सुनचाँदी पसलमा लुटपाट घटनामा डाँका मुद्दा चलाएको तथा ०६६ सालमा दमक, झापाको लक्ष्मी बैंक लुटपाट घटनामा ७ वर्ष कैद भुक्तान गरेको समेत खुलेको छ।
त्यसैगरी निजहरूको प्रारम्भिक अनुसन्धानको क्रममा मंगलबार उर्लावारी न.पा-२ सालबारी बस्ने ४८ वर्षीय केन्द्रलाल धिमाललाई समेत पक्राउ परेका छन्। धिमालको घरबाट ३ नाल भरूवा बन्दुक, सो बन्दुकमा प्रयोग हुने बारूद, छर्रा, नटबोल्ट, केप, वासर, पुल्थ्रोमा प्रयोग भएको कपडा लगायतका सामाग्री सहित समेत बरामद भएको छ।
पक्राउ परेका व्यक्तिहरूलाई मुलुकी फौजदारी अपराध ऐन २०७४ अन्तर्गतको हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।