फाइल तस्बिर
काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेल उच्चशिक्षामा अराजकता रहेको स्वीकार गरेका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि शिर्षक माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै उनले उच्चशिक्षामा अराजकता रहेको बताएका हुन्।
उच्चशिक्षामा देखिएको अराजकता नियन्त्रणका लागि आवश्यक ऐन बनाउने काम भईरहेको जानकारी दिएका उनले भने. 'विद्यालय शिक्षासंग सम्बन्ध भएका र उच्च शिक्षासँग सम्बन्धित ऐन निर्माणको चरणमा मन्त्रालय रहेको छ।'
'उच्चशिक्षामा अराजकता पनि छ। विश्वविद्यालयहरुका विविध प्रकारका समस्या छन्। हिजोको क्षेत्रगत र आजको प्रादेशिक ढंगले रहेका विश्वविद्यालयहरुका काठमण्डौमा सम्पर्क कार्यालयहरु थिए। तिनीहरुलाई बन्द गरिए। सबै विश्वविद्यालयलाई एउटा प्रणाली तर्फ लैजानका लागि काम गरिरहेका छौं।'
चिकित्सा शिक्षा क्षेत्र सुधारको सम्बन्धमा भएका पहलबारे जानकारी गराउदै उहाँले चिकित्सा शिक्षा ऐनको आधारमा आयोग गठन गर्ने क्रममा उपाध्यक्ष छनौटको लागि सर्च कमिटी गठन भएको र यो बीचमा प्रधानमन्त्रीको अध्यक्षतामा पदेन सदस्यहरु रहेर केही निर्णय गरिएको जानकारी दिए।
उपप्रधानमन्त्री, स्वास्थ्यमन्त्रीको अध्यक्षतामा कार्यदल बनेको र त्यसले आयोगको संगठन संरचना, नियमावलि, साझा प्रवेश परीक्षा र शुल्क सम्बन्धी अलग अलग कार्यदलले कामहरु अगाडि बढाईरहेको भन्दै उनले ती कार्यदलका प्रतिवेदनहरु आयोगको बैठकमा छिट्टै प्रस्तुत हुने बताए।
ऐनले व्यवस्था गरे अनुसारको आयोगलाई पूर्णता दिने र व्यवस्थित गर्ने दिशामा मन्त्रालय अघि बढेको पनि स्पष्ट पारे।
सांसदहरुले चिकित्सा शिक्षा र उच्च शिक्षामा देखिएको विकृति विसंगतिबारेमा मन्त्रालयको ध्यानाकर्षण गराउदै नियन्त्रणका लागि भएको पहलबारे जिज्ञासा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।