काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचन परिणामबारे समीक्षा गर्न शुक्रबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने छ।
केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा प्रदेशको समानुपातिक सांसद चयन, राष्ट्रियसभा गठनसम्बन्धी राष्ट्रपति कार्यालयमा रोकिएको अध्यादेश र मुलुकको समसामयिक राजनीतिबारे छलफल हुन लागेको जानकारी दिए।
निर्वाचनमा कांग्रेसको स्थिति कमजोर भएपछि समीक्षाका लागि पार्टीका नेताहरुले केन्द्रीय समितिको बैठक बोलाउन माग गरे पछि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्। कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति २९ सदस्यीय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।