एजेन्सी– कोपा अमेरिकाको क्वार्टरफाइनलमा समूह ‘बी’बाट अर्जेन्टिना र कोलम्बिया प्रवेश गरेका छन्।
आइतबार राति भएको खेलमा अर्जेन्टिनाले पाहुना टोली कतारलाई २–० ले हराउँदै समूह उपविजेता बन्दै क्वार्टरफाइनल प्रवेश गरेको हो। कोलम्बियाले पाराग्वेलाई १–० ले हराएर समूह विजेता बन्दै क्वार्टरफाइनल प्रवेश गरेको हो।
अर्जेन्टिनालाई क्वार्टरफाइनल प्रवेशका लागि कतारलाई हराउनै पर्ने दबाब थियो। निकै प्रतिस्पर्धात्मक खेलको सुरुवातमै अर्जेन्टिनाले अग्रता लिएको थियो। खेलको चौथो मिनेटमा नै लौटारो मार्टिन्जले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। कतारका डिफेन्डरले आफ्ना साथीलाई दिएको पासलाई मार्टिन्जले चलाखीपूर्वक बीचमै खोसेर गोल गरेका थिए।

दोस्रो हाफमा पनि गोलका लागि थुप्रै अवसर अर्जेनिटनाले पाएको थियो। खेलको ८२औं मिनेटमा सर्जियो अग्युरोले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाएका थिए। बाँकी समय दुबैतर्फबाट गोल हुन सकेन र अर्जेन्टिनाले २–० ले खेल जित्यो।
१ जित, १ हार र १ बराबरीसँगै ४ अंक बटुलेको अर्जेन्टिना समूह उपविजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो। कोलम्बिया भने ३ खेलमा ३ खेल नै जित्दै समूह विजेता बनेर क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ।
सोही समूहबाट २ बराबरी र १ खेल हारेको पाराग्वेको अर्को चरण पुग्ने सम्भावना कायमै छ। तेस्रो मध्येको उत्कृष्ट २ टोली मध्येबाट पाराग्वेले अर्को चरण प्रवशेको सम्भावना कायमै राखको छ।
समूह ‘बी’को कतार २ खेलमा हार र १ मा बराबरी खेल्दै प्रतियोगिताबाट बाहिरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।