काठमाडौं- इंग्ल्यान्डमा जारी १२औं आइसिसी विश्वकप क्रिकेटमा पाकिस्तानले पुनरागमन गरेको छ। आइतबार भएको खेलमा दक्षिण अफ्रिकालाई ४९ रनले पराजित गर्दै पाकिस्तानले प्रतियोगितामा दोस्रो जित दर्ता गराएको हो।
पाकिस्तानको जितलाई भारतसँगको हारपछिको पुनरागमनको रुपमा समेत हेरिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ८ रनको योगफल तयार पार्यो। आइतबार पाकिस्तानको ब्याटिङ लाइनअप सुदृढ देखिएको थियो। पाकिस्तानका इमाम उल हक र फाकर जमामले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गर्दै सटिक सुरुवात दिलाएका थिए। दुवैले समान ४४ रन जोडे।

त्यसपछि ब्याटिङ गर्न आएका बाबर आजम र हरिस सोहेलले अर्धशतकीय पारी खेले। आजमले ६९ रन बनाउँदा सोहेलले ५९ बलमा सर्वाधिक ८९ रनको विस्फोटक पारी खेले। उनको पारीमा ९ चोका र ३ छक्का सामेल थियो।
मोहम्मद हफिजले २० तथा इमाद वसिमले २३ रनको योगदान दिए।
दक्षिण अफ्रिकाका लुंगी एनगिडीले ३ तथा इमरान ताहिरले २ विकेट हात पारे।

जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाको भने सुवात राम्रो हुन सकेन। टोलीको स्कोर ४ रन हुँदा हसिम अम्ला मोहम्मद आमिरको एलबिडब्लु धरापमा परे।
विकेटकिपर ब्यट्सम्यान क्वानटन डि ककले ४७ र कप्तान फाप डु प्लेसिसले ६३ रनको पारी खेल्दै दक्षिण अफ्रिकालाई दबाबमुक्त मनाउन खोजेका थिए। एन्डिल फेहुल्काओले ४६ रन जोडे।
तर, पाकिस्तानका बलरसामु दक्षिण अफ्रिकाका ब्याट्सम्यान खुलेर खेल्न सकेनन्। कुनै पनि ब्याट्सम्यानबीचमा दरिलो साझेदारी बन्न नसकेपछि दणिण अफ्रिकाले ९ विकेटको क्षतिमा २ सय ५९ रन मात्र बनाउन सक्यो।
पाकिस्तानका वाहाव रियाज र सादव खानले समान ३/३ विकेट हात पारे। मोहम्मद आमिरको नाममा २ विकेट रह्यो।

यो हारसँगै दक्षिण अफ्रिका विश्वकपबाट बाहिरिएको छ। उपाधिको दाबेदार मानिएको दक्षिण अफ्रिकाले ७ खेलमध्ये ५ मा हार बेहोरेको थियो।
उता पाकिस्तानको भने ६ खेलमा ५ अंक भएको छ। सेमिफाइनल पुग्न उसले बाँकी ३ खेलमा शतप्रतिशत जित निकाले पनि अन्य टोलीको खेलमा भर पर्नुपर्ने हुन्छ।
अंकतालिकाको शीर्ष स्थानमा ११ अंकसहित न्युजिल्यान्ड छ। अष्ट्रेलिया, भारत र इंग्ल्यान्ड क्रमशः दोस्रो तेस्रो र चौथो स्थानमा छन्। अंकतालिकामा शीर्ष ४ मा रहने टोली सेमीफाइनल पुग्नेछन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।