जनकपुर- महोत्तरीको औरही नगरपालिकाको कार्यालयभित्र गएराति तोडफोड गरिएको छ।
औरही नगरपालिकामा गए राति नगर का उपप्रमुख रेणु झाको नेतृत्वमा गएको एक टोलीले नगरपालिकाको कार्यालय भित्र रहेको योजना शाखा तथा प्रशासन फाँटमा गरी दुई शाखामा दुई थान कम्प्युटर, दुई थान स्क्यान मेसिन, दुई थान प्रिन्टर, दुई थान विधुतीय मल्टिप्लग बोर्डमा तोडफोड गरिएको छ।
इलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारी अनुसार शनिबार साँझको समयमा कार्यालयमा कामकाज मनपर्दी रुपमा गर्दै आएको विरोधमा उपमेयर रेणु झाको नेतृत्वको टोलीले कार्यालयमा तोडफोड गरेका छन्।
अन्य दिन कार्यालयमा उपस्थित नहुने कर्मचारीहरु शनिबार काम गरेको भन्दै सोधपुछ गर्न खोज्दा विवादले उग्ररुप लिएको प्रहरी निरीक्षक किशोर आचार्यले जानकारी दिएका छन्।
यता कामको चापले गर्दा शनिबार पनि काम गर्नुपर्ने बाध्यता रहेको नगरप्रमुख सुनिलकुमार यादवलाई उद्धृत गर्दै प्रहरी निरीक्षक आचार्यले बताए।
सोही क्रममा उपप्रमुख पक्षको राजपा नेता ज्ञानु झा घाइते समेत भएका छन्। उनको स्थानीय क्लिनिकमा उपचार भइरहेका छ।
असार मसान्तको समयमा पनि कार्यालयमा नियमितरूपमा कर्मचारी नआएपछि नगरपालिकामा योजनाअनुसारको कामकाज समय मै सम्पन्न हुन नसकेको स्थानीयवासीले प्रतिक्रिया दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।