काठमाडौं- सहकारी विभागले बचत तथा ऋणको सन्दर्भ ब्याजदर (रिफ्रेन्स ईन्ट्रेस्ट रेट) तोकेर आगामी आर्थिक वर्षको पहिलो महिनादेखि लागू गर्ने भएको छ।
सहकारी ऐन २०७४ को दफा ५१ तथा सहकारी नियमावली २०७५ को परिच्छेद ५ (२३) ले गरेको व्यवस्था बमोजिम सन्दर्भ ब्याजदर तोक्न लागिएको सहकारी विभागका रजिस्टार डा. टोकराज पाण्डेले बताए।
यसरी तोकिएको सन्दर्भ ब्याजदर सहकारी संस्थाका लागि निर्देशक ब्याजदरका रुपमा रहने प्रावधान ऐनमा रहेको छ। सहकारी ऐनको दफा ५१ अनुसार विभागका रजिस्टारको संयोजकत्वमा गठन हुने ८ सदस्यिय समितिले सन्दर्भ ब्याजदर निर्धारणको कामलाई अन्तिम अवस्थामा पुर्याएको हो।
सन्दर्भ ब्याजदर निर्धारणका आधार र प्रकृया सहकारी नियमावली २०७५ ले तोकेअनुसार हुने रजिस्टार पाण्डेको भनाई छ।
समितिले सन्दर्भ ब्याजदर निर्धारण गर्दा बचत तथा ऋणको कारोबार गर्ने केन्द्रीय विषयगत संघमा आवद्ध संघ–संस्थाहरुको औसत ब्याजदर, सहकारी बैंकको ब्याजदर, वाणिज्य बैंकको औसत ब्याजदरलगायत विषयलाई आधार बनाउने रजिस्टार पाण्डेले जानकारी दिए।
ब्याजदर निर्धारण गर्दा समितिले मुख्यतया तीन वटा सिद्धान्तलाई आधार मानेको छ।
बचतमा भारित औसत ब्जाजदर भन्दा बढी तर ऋणमा भारित औसत ब्याजदरभन्दा कम र बचत तथा ऋणको ब्याजदरको अन्तर ६ प्रतिशत भन्दा कम हुने गरी सन्दर्भ ब्याजदर तोक्नुपर्ने व्यवस्था विनियमावलीमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।