पुल निर्माणमा ढिलाई गर्ने पप्पुसहित ४ निर्माण कम्पनीलाई सडक विभागले सोध्यो स्पष्टीकरण

जवाफ नदिए ठेक्का तोडी कालो सूचीमा राख्ने चेतावनी
नेपाल लाइभ | २०७६ कार्तिक १९ मंगलबार | Tuesday, November 05, 2019 ०९:०१:०० मा प्रकाशित

काठमाडौं- देशका विभिन्न स्थानमा पुल निर्माणको लागि जिम्मेवारी लिएका पप्पुसहित ४ वटा निर्माण कम्पनीलाई सडक विभागले स्पष्टीकरण सोधेको छ।

चेतावनीसहित कारबाहीका लागि ७ दिने सूचना जारी गर्दै विभागअन्तर्गतको सडक डिभिजन कार्यालय जनकपुरले पुल निर्माणका लागि सम्झौता गरी समयमा काम नगरेको तथा निर्माणकार्यका लागि सम्बन्धित निर्माण कम्पनीलाई मौखिक तथा लिखितरुपमै पत्राचार गर्दासमेत कार्यप्रगति न्यून रहेकोले स्पष्टीकरण सोधेको हो।

कार्यालयले कारबाही प्रक्रिया किन अगाडि नबढाउने भन्दै निर्माण कम्पनीसँग लिखित जवाफ माग गरेको छ।

कार्यालयले रतु खोलामा पुल निमार्णमा लापरबाही गर्ने पप्पु/दिवा जोयन्ट भेन्चर, काठमाडौं, बनीगामा-लक्ष्मीपुर-निकल सडकखण्डमा बक्स कल्भर्ट निर्माणलाई अलपत्र पार्ने धुकुछु/म्याग्लुङ जोयन्ट भेन्चर, काठमाडौं र जमुनी नदी पुल निर्माणमा लापरबाही गर्ने एमएस रमन/कमल जोयन्ट भेन्चर, जनकपुरसँग जवाफ मागेको छ।

यसैगरी जलद नदीमा पुल निर्माणको काममा लापरबाही गर्ने वाइपी कन्स्ट्रक्सन, पाल्पा र जल्लद नदी धनुषाको पुल निर्माणको काम समयमै नगर्ने धुकुछु/म्याग्लुङ जोयन्ट भेन्चर, काठमाडौंसँग कार्यालयले स्पष्टीकरण मागेको हो।

कार्यालयले समयभित्रै जवाफ प्राप्त नभएमा ठेक्का तोडी कालो सूचीमा राख्ने प्रक्रिया अगाडि बढाउनेसमेत चेतावनी दिएको छ।