काठमाडौं- मन्त्रिपरिषदको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको छ।
सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा गणेशदत्त भट्टलाई नियुक्ति गर्ने निर्णय सरकारले गरेको हो।
यसैगरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा अध्यक्षमा युवराज सुवेदी नियुक्त गर्ने निर्णय समेत सरकारले गरेको हो।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
गत चैत दोस्रो साता बसेको मन्त्रिपरिषद् बैठकले आयोगमा रिक्त पदाधिकारी सिफारिस गर्न पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा ५ सदस्यीय सिफारिस समिति बनाएको थियो। दुई आयोगमा दलीय भागबण्डाका आधारमा नाम सिफारिस गरेको थियो।
भट्ट नेपाली कांग्रेसका तर्फबाट सिफारिस भएका व्यक्ति हुन् भने सुवेदी नेकपाका तर्पबाट सिफारिस भएका थिए।
शनिबार बसेको प्रमुख दुई दलको बैठकले ऐन संशोधनको काम अघि बढाउने र सिफारिस समितिलाई नाम सिफारिस गर्न आग्रह गर्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।