काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोना भाइरसविरुद्धको भ्यक्सिन अभावबाट तड्पिनुपर्ने स्थिति नआउने बताएका छन्। उनले कोरोनाविरुद्धको खोप पर्याप्त मात्रामा ल्याउन थालिएको बताउँदै अब खोप अभाव नहुने दाबी गरेका हुन्।
'लगभग यस वर्ष (२०२१) को अन्त्यसम्ममा सबैलाई खोप लगाइसक्ने गरी प्रयास गरिरहेका छाैं। तर, हाम्रो क्षमताले कति भ्याउँछ, त्योभन्दा अलिकति पर पनि जान सक्छ,' आइतबार बिहान वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, 'तर, अब भ्याक्सिनको अभाबबाट हामी तड्पिनुपर्ने स्थिति आउँदैन।'
उनले केही समय त्यस्तो स्थिति आउला कि जस्तो देखिए पनि अब भ्याक्सिन नपाउने स्थिति नभएको दाबी गरे। सबैलाई खोप लगाएर सुरक्षित बनाउने उनको भनाइ थियो। यद्यपि, संसारबाट कोभिड नहटेसम्म स्वास्थ्य सावधानीलाई बेवास्त गर्न नहुने प्रधानमन्त्री ओलीले बताए।