काठमाडौं- सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले आगामी आर्थिक वर्ष २०७६/०७७ मा करिब ४८ अर्ब आम्दानी गर्ने लक्ष्य लिएको छ। चालू आव २०७५/०७६ को संशोधित आम्दानीभन्दा ९ दशमलव २९ प्रतिशतले वृद्धि गरी टेलिकमले झन्डै ४८ अर्ब आम्दानी गर्ने लक्ष्य लिएको हो।
चालु आवमा टेलिकमले ४३ अर्ब ६६ करोड २८ लाख रुपैयाँ आम्दानी हुने आँकलन गरेको छ। यो आम्दानी रकम पनि आर्थिक वर्ष २०७४/०७५ को भन्दा ३ दशमलव ५५ प्रतिशत कम हो।
टेलिकमले आगामी आवमा प्रस्तावित बजेटको खाका तय गर्दा यस आर्थिक वर्षको तुलनामा ९ दशमलव २९ प्रतिशतले वृद्धि गर्दै आगामी आवमा ४७ अर्ब ७२ करोड १ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको हो।
टेलिकमको यो लक्ष्य पूरा हुन ‘ओभर द टप’ सेवाबाट हुँदै आएको घाटा सुधार गर्न आवश्यक छ। अघिल्लो आवमा मात्रै दूरसञ्चार सेवा प्रदायक कम्पनीले यो सर्भिसबाट ६ अर्बभन्दा बढी घाटा व्यहोर्नु परेको छ।
टेलिकमले आर्थिक वर्ष २०७४/०७५ मा ४५ अर्ब ५६ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको थियो।
अधिकांश सूचक नकारात्मक
नेपाल टेलिकमले आर्थिक वर्ष २०७५/७६ मा अधिकांश सूचक नकारात्क हुने आँकलन गरेको छ। जसमा आम्दानीमा ३ दशमलब ५५ प्रतिशत र नाफामा ३९ दशमलब ६६ प्रतिशतले कमी आउने उसको आँकलन छ। यसैगरी टेलिकमका प्रतिफल वृद्धिमा पनि ५ दशमलव ७३ प्रतिशतले कमी हुने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।