काठमाडाैं– नर्भिक इन्टरनेशनल हस्पिटलले ३ टेस्ला एमआरआइ र अत्याधुनिक प्रविधिसम्पन्न १२८ स्लाइस सीटी स्क्यान मेसिन थप गरेको छ । न्युुक्लिएर मेडिसिन सेन्टरका रुपमा परिणत गर्न थप एक अत्याधुनिक सीटी. स्क्यान र अत्याधुनिक एएमआरआइ सेवा थपिएको बताइएको छ । उक्त नयाँ सेवा पूर्व युवराज्ञी तथा समाजसेवी हिमानी शाहले शुभारम्भ गरेकी छन् ।
समारोहमा वरिष्ठ कलाकार तथा नर्भिकका सद्भावनादूत हरिवंश आचार्य उपस्थित थिए । निदरल्याण्डमा निर्मित एमआरआइमा यसको (इन–बोर) सुरूङ्ग भित्र श्रब्य–दृश्य प्रणाली रहेको हुँदा बिरामीले आफूलाई मनपर्ने, सङ्गीत, मनपर्ने भिडियो आदि सुन्न/हेर्न सक्ने सुविधा छ ।
श्रब्य–दृश्य हुने भएको हुँदा एमआरआइ गराउने बिरामीलाई डरको सट्टा मनोरञ्जन दिने र तिनले आफ्नो छनौटको सङ्गीत वा भिडियो हेर्न मिल्ने विशेषता रहेको बताइएको छ।
१२८ स्लाइसको सीटी स्क्यान सामान्य सीटी. स्क्यानको तुलनामा एक्स–रेको विकीरण ८० प्रतिशतले कम हुने, उत्कृष्ट फोटो गुणस्तरका साथ अन्य थुप्रै अत्याधुनिक विशेषताहरू रहेका छन् । यसले मुटु, मस्तिष्क, मांशपेशी, अस्थीपञ्जर आदि सबै प्रणालीको खराबी/रोग पत्ता लगाउन भूमिका खेल्छ ।
समुद्घाटन समारोहमा आफ्नो स्वागत मन्तव्य राख्दै नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यले हस्पिटलले आगामी पाँचवर्षभित्र सम्पन्न गर्ने विविध सेवा विस्तार योजना बारे प्रकाश पारिन् । त्यसरी नै नर्भिकका स्नायुरोग विशेषज्ञ तथा चिकित्सा निर्देशक डा. पंकज जलानले आजै समुद्घाटिन अत्याधुनिक एमआरआइ तथा सीटी. स्क्यान सेवाको अत्याधुनिक एवम् वैज्ञानिक विशेषताहरूबारे व्याख्या गरे ।
समारोहमा हस्पिटलका अध्यक्ष बसन्त चौधरीले प्रमुख अतिथि पूर्व युवराज्ञी हिमानी शाहलाई प्रशंसा–पत्र दिएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।