काठमाडौं– मधेस आन्दोलनमा आफन्त गुमाएका पीडितहरुले छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।
सहिद नितु यादवका पिता श्रीनारायण यादव, घाइतेहरु शैलकुमार यादव र सुशील कर्णले बुधबार विज्ञप्ति निकाल्दै यस्तो माग गरेका हुन्।
छानबिन आयोगले सरकारलाई बुझाएको प्रतिवेदन पीडित परिवारको न्याय प्राप्तिका लागि जतिसक्दो चाँडै सार्वजनिक गर्न माग गरिएको छ। वर्षौंसम्म न्याय नपाएकाले प्रतिवेदन सार्वजनिक हुनुपर्ने उनीहरुको माग छ ।
मधेस आन्दोलनका क्रममा भएका घटना छानबिनका लागि गठित आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई २९ मंसिरमा गते प्रतिवेदन बुझाएको थियो।
सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा आयोग बनाएको थियो। आयोगका सदस्यहरुमा नेपाल प्रहरीका पूर्व एआइजी नवराज ढकाल, अनुसन्धान विभागका सुवचन्द्र झा र नायव महान्यायाधिवक्ता सूर्य कोइराला थिए।
सरकारले ०७३ भदौमा मधेसी दलहरुको सम्झौता अनुसार यस्तो आयोग गठन गरेको थियो। कानुनविदका तर्फबाट सूर्य कोइराला, महिला तथा अदिवासी जनजातिको तर्फबाट सजन लोप्चन सदस्य थिए। समितिको सदस्य–सचिवको जिम्मेवारी गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख यादव कोइरालालाई दिइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।