जनकपुर- धनुषाको गौशाला नगरपालिका-१० भरतपुरकी एक महिलाको छुरा रोपेर हत्या गरिएको छ। बिहिबार राती ३१ वर्षीया अन्जु श्रेष्ठको हत्या भएको प्रहरीले जानकारी दिएको छ। साधारण महिलाको समेत घरभित्रै प्रवेश गरी भएको हत्याले गाउँलेमा त्रास फैलिएको छ।
श्रेष्ठको बायाँ छातीमा गहिरो घाउ लागेकाले श्रेष्ठको जनकपुर अञ्चल अस्पतालतर्फ लाँदै गर्दा बाटो मै मृत्यु भएको इलाका प्रहरी गौशालाले जनाएको छ।
सोही वडाको स्कुल टोलस्थित माइतीघरमा आमा र दुई छोराछोरीसाथ सुतिरहेको अवस्थामा अन्जुको कसले र किन हत्या गर्यो? रहस्यमय बनेको छ।
मध्यरातमा घटना भएपश्चात् स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीले जानकारीलगत्तै घटनास्थल पुगेर सुरक्षा घेरामा लिएर अनुसन्धान सुरु गरेको बताएको छ। गस्ती, निगरानी तीब्र पारेको प्रहरीको दाबी छ।
सँगै सुतेकी ९ वर्षीया छोरी नन्दिताका अनुसार राति खाना खाएर सबै सामान्य अवस्थामै सुतेका थिए। हतियार प्रहारपछि अन्जु कहालिँदै उठेपछि मात्र परिवारले घटनाबारे जानकारी पाएका थिए। छोरी नन्दिताले भनिन्, 'मम्मीले मलाई मार्यो मार्यो भनेर कराउन थालेपछि मात्र हामी उठ्यौं।' 'मम्मीको छातीबाट निस्केको रगत कपडा भिजाउँदै देब्रेपट्टीको खुट्टाबाट बगिरहेको थियो। रिंगटा लाग्यो, मर्न लागें भन्दै बाहिर निस्कनुभयो,' उनले भनिन्, 'हजुरबुबाले पानी छ्याप्दै के भयो भनेर सोध्नुभयो। मम्मीले हुँहुँ मात्र गर्नुभयो। बोल्न सक्नुभएन। तत्कालै अचेत हुनुभयो। अनि भुइँमा ढल्नु भयो।'
पति ईश्वर श्रेष्ठले सिन्धुलीमा अर्को बिहे गरेपछि उनी एक्लै बस्दै आएको स्थानीयको भनाई छ। लोग्नेसँगको खटपट र दोश्रो बिहे गरेपछि ५/७ वर्षदेखि उनी दुई छोराछोरीसाथ बुवा विष्णु श्रेष्ठको घरमै बस्दै आएकी थिइन्।
ससुरा उपेन्द्र श्रेष्ठका अनुसार पतिपत्नीबीच विवाद र बोलचाल समेत थिएन। 'हामीसँग पनि बोलचाल बन्द गरेकी थिइन्,' ससुरा उपेन्द्रले भने, 'छोराछोरीलाई समेत हामीसँग बोल्न दिँदैन थिइन्।’
श्रीमानले खर्च समेत नदिएपछि छोराछोरीको पढाई र पालनपोषण उनले आफैं गर्दै आएकी थिइन्।
माइतीको अवस्था पनि कमजोर रहेकाले उनले गौशालास्थित निर्धन उत्थान बैंकमा सहयोगी पदमा काम गरेर गुजारा गर्दै आएकी थिइन्।
दुखजिलो गरेर नाबालक छोराछोरीको पालनपोषण गर्दै आएकी एउटी संघर्षशील नारीको कसले र किन हत्या गर्यो? भन्दै गाउँले आक्रोशित भएका छन्।
सोही राति ११ बजेतिर अन्जुलाई फोन आएको थियो। यस विषयमा पनि प्रहरीले अनुसन्धान भइरहेको बताएको छ। हत्यासँगै त्यो मोबाइल सेट पनि हराएकाले थप प्रश्न उब्जेको छ।
प्रहरी उपरीक्षक ईश्वर कार्कीले घटनाको सुक्ष्म र सघन अनुसन्धान भइरहेको बताए। 'दोषी धेरै दिन उम्किन पाउने छैन,' उनले भने, 'प्रहरीले छिटै नियन्त्रणमा लिनेछ।’
घटनामा संलग्न आरोपमा अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ नगरेको प्रहरीले जनाएको छ।
मृतकको शवको पोष्टमार्टम जनकपुर अञ्चल अस्पतालमा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।