रामपुर, पाल्पा- चेतनाको अभावमा जिल्लाको रिब्दीकोट गाउँका स्थानीय अझै पनि धामीझाँक्रीको भर पर्न बाध्य छन्। रिब्दीकोट गाउँपालिका–८, फेक, पेलाचौरका ७० वर्षीय जितबहादुर बगाले जब बिरामी पर्छन् लामाधामीकै भरमा उपचार गराउँछन्।
उनी भन्छन्, 'पटकपटक लामाधामीसँग उपचार गराउँदा निको नभएपछि मात्र अस्पताल जाने गरेको छु।' अस्पताल नजिक नभएकाले पनि सुरुमा लामाधामीसँगै उपचार गर्न सजिलो भएको उनको भनाइ छ।
महिला स्वयंसेविका मनकुमारी बगाले पनि आत्मादेखि माता आएकाले माताको आदेशअनुसार उपचार गर्दै आएको बताउँछिन्।
फेक, पेलाचौरका ६५ वर्षीय तिलबहादुर हिस्की, ६० वर्षीय थानबहादुर विक र प्रेमबहादुर खड्काले लामाधामीको काम गर्दै आएका छन्। एउटै गाउँमा सातभन्दा बढी लामाधामी छन्।
बच्चाबच्चीले आमाको दूध नखाएमा, घरमा कसैलाई पेट दुख्ने, पखाला लाग्ने, टाउको, हातखुट्टा दुख्ने, घाउखटिरा, ज्वरो आउने, रुघाखोकी लाग्ने ,शरीर दुख्ने, हातगोडा बाउँडिने लगायतका बिरामी भएमा उपचारका लागि कुलायन, वायु जागेको, नाग, देवीदेवता लागेको भन्दै बिरामी बोकेर लामाधामी कहाँ पुग्ने गर्छन्। यहाँका जनता लामाधामीलाई नै अस्पतालको डाक्टर मानेर पुकार्ने गर्छन्।
देवीदेवताले विशेष मन्त्र सिकाएको र त्यो मन्त्र जप्दै झारफुक गरे निको हुने पुरानो अन्धविश्वास रुढीवादीबाट गाउँका जनता अझै पनि मुक्त हुन सकिरहेका छैनन्। उनीहरुकहाँ भरपर्दो सचेतना कार्यक्रमको आवश्यकता देखिन्छ।
अशिक्षा, अन्धविश्वास र गरिबीले नराम्रोसँग गाँजेको समाजमा बिरामी परे अस्पताल होइन लामाधामीकहाँ लगे निको हुन्छ भन्ने पुरानो मान्यता हट्न सकिरहेको छैन।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।