जनकपुर- चुरे विनाश, प्रचण्ड गर्मी र लामो समयदेखि वर्षा नहुँदा धनुषाको पूर्वपश्चिम राजमार्गबाट उत्तरी तथा पूर्वी भेगका दर्जनौँ गाउँमा खानेपानीको समस्या भएको छ।
नक्टाझिज, ढल्केवर, पुष्पवलपुर, बेंगाडावर, धारापानी, राधापुर, गोदार, लवटोली, दिगम्बरपुर, लक्ष्मीनिवास, कुसुमविछौना सहित दर्जन बढी गाउँमा पानीको समस्या विकराल बन्दै गएको छ। लामो समयदेखि वर्षा नहुँदा चुरे क्षेत्रमा पानीको मुहान सुकेपछि यस क्षेत्रमा पानीको समस्या भएको हो।
'मुहान धमाधम सुकेका छन् भने वनमा जतासुकै डढेलो देखिन्छ। सर्वसाधारण धारा र कुवामा रातभर लाइन बस्न बाध्य छन्। पानीको सतह भासिएका कारण इनार, बोरिङ, हातेपाइप, पोखरीलगायतका अधिकांश पानीका श्रोत सुकेका छन्,' एक स्थानीयबासीले भने।
'सरसफाइ त परै जाओस् स्थानीयलाई पिउने पानीको जोहो गर्न समेत मुस्किल परेको छ,' उनले भने, 'पानीकै अभावले खुल्ला शौच बढेको छ। भएका कुवा, इनार र पानीको मुहान समेत सुकेका छन्। लुगा, धुन र नुहाउनका लागि नै भनेर कमला नदी पुग्नुपर्ने बाध्यता रहेको स्थानियले बताएका छन्। यो खडेरीले अनिकालमात्र होइन, रोगव्याधी पनि निम्त्याउने भन्दै स्थानीय चिन्तित बनेका छन्।'
पानीको मुहान सुकेपछि स्थानीय बासिन्दा खोलाखोल्सीको धमिलो दूषित पानी पिउन बाध्य छन्। औरही, जलाद, बसही, चारनाथ खोलामा पूरै सुक्खा बालुवा बाहेक केही देखिँदैन। अलिअलि पानी रहेको कुवामा पानी भर्न स्थानीयवासी घन्टौँसम्म लाम बस्नुपर्ने अवस्था छ।
रातु खोलामा वर्षौंदेखि क्रसर व्यवसायीले गर्दै आएको ढुंगा, बालुवा र गिट्टीको अवैध उत्खननले खानेपानीको मुहानमा गम्भीर असर परेपछि इनार सुकेको किसाननगरका स्थानीय निलबहादुर लुम्रेले बताए।
सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश २ का सोमप्रसाद शर्माले अत्यधिक चुरे दोहनले चुरे क्षेत्र विनाशका कारण पानीका मुहान सुक्न थालेकाले राजमार्ग आसपासका बस्तीमा पानीको हाहाकार नै मच्चिएको हो।
जनकपुर ट्यांकरबाट वितरण गर्ने तयारी
ग्रामीण क्षेत्रमा मात्र होइन, लामो समयदेखि वर्षा नहुँदा चुरे क्षेत्रमा पानीको मुहान सुकेपछि जनकपुर उपमहानगरपालिकामा समेत भूमिगत पानीको लेयर हराउन थालेको छ।
जनकपुरमा सय देखि २५० फिट मुनिसम्म गाडिएको हाते चापाकल सुक्न थालेका छन्। माथिल्लो क्षेत्रमा पानी रिचार्ज हुन नपाउँदा तल्लोभेगमा भूमिगत पानीको लेयर हराउन थालेको राष्ट्रपति तराई मधेस संरक्षण विकास कार्यक्रमका महेन्द्रनगर युनिटका इन्चार्ज रामेश्वर पण्डितले बताए।

जनकपुरका विभिन्न वडामा खाने पानीको समस्या बढ्दै गएपछि जनकपुरधाम उपमहानगरपालिकाले शुद्ध र स्वच्छ खानेपानी वितरण गर्न लागेको छ।
गत मंगलबार उपमहानगरपालिकाकी उपमेयर रीता झाको अध्यक्षतामा बसेको बैठकले जनकपुरको विभिन्न वडाको मुख्य चौकमा खानेपानी वितरण गर्ने निर्णय गरेको छ।
जनकपुरको वडा नम्बर ३, १० र ११ नम्बर वडामा सबैभन्दा बढी खाने पानीको समस्या देखिएको उपमेयर रीता झाले बताइन्।
अहिले जनकपुरको विभिन्न स्थानमा धारा र हाते कल (धारा)बाट पानी नआएपछि जनकपुर उपमहानगरपालिकाले पानी वितरण गर्न लागेको झाको भनाइ छ।
'हामीलाई थुप्रै गुनासा आए,’उपमेयर झाले भनिन्, 'जहाँ खानेपानी अभाव छ र हाते कलबाट पानी आउन छोडेको छ त्यस स्थानलाई प्राथमितामा राखेर सम्बन्धित वडा अध्यक्षको अगुवाईमा पाइक पर्ने स्थानमा खाने पानी वितरण गरिने छ।’
खानेपानी वितरण कहिलेबाट गर्ने प्रश्नको जवाफमा उपमेयर झा भन्छिन्, 'कार्यालयको दमकल सरसफाई हुँदै छ। औषधि उपलब्ध भएपछि चौक–चौकमा पानी वितरण गरिने छ।’
पहिलो चरणमा ३ वडालाई केन्द्रित गरी पानी वितरण गरिने छ। जनक चौक, जानकी चौक, शिव चौक, राम चौक, मुरली चौक, क्याम्पस चौकलगायतका स्थानमा ट्यांकरद्वारा पानी वितरण हुने उपमेयर झाले जानकारी दिइन्।
स्थानीय तह र संसदीय निर्वाचन क्षेत्र विकास कोषको अधिकांश रकम खानेपानी व्यवस्थापनमा खर्च हुने गरेपनि समस्याको स्थायी समाधान नदेखिएको उत्तरी भेगका बासिन्दाहरु बताउँछन्।
गाउँगाउँमा ठूला खानेपानी आयोजना निर्माण गर्नुपर्ने स्थानीयबासीको माग छ।
मकै छर्नै समस्या
पानी नपरेर कृषकले चैतमा नै छर्न पर्ने मकै अझै छर्न सकेका छैनन्। लगाएको अन्नबाली समेत घामले डढ्न थालेको छ। पानी अभावले किसानले यसक्षेत्रमा धानको बीउसमेत राख्न पाएका छैनन्।

धान उत्पादन कम हुन सक्ने
विगत केही दिनदेखि अत्यधिक बढेको गर्मीका कारण धनुषासहित तराई मधेशका विभिन्न जिल्लामा खेतमा छरिएको धानको बीउ खेतमै सुक्न थालेको छ।
धान रोप्ने बेला भए पनि खेतमा लगाइएको बीउ राख्न आकासे पानी नपर्दा चर्को गर्मीले सुक्न थालेको छ। कतिपय किसानले त वर्षाको प्रतीक्षा र सिचाईंको व्यवस्था नभएका कारण बीउ छर्न समेत सकेका छैनन्।
असारको पहिलो हप्ता बित्न लाग्दा पनि पानी नपर्दा खेतमा धुलो उड्न थालेको छ। प्रदेश सरकारले सिँचाईका लागि विभिन्न योजना ल्याए पनि किसान आकासेपानीको भर पर्न बाध्य छन्।
माघदेखि जेठसम्म अधिकांश जमिन बाँझै छोडेका किसानले असारमा समेत वर्षा हुने छाँटकाँट नदेखेपछि चिन्तित भएका छन्।
रोपाइँको चटारो हुनुपर्ने बेलामा समेत पानी अभावमा रोपाइँ गर्न नसकिने चिन्ताले किसानलाई सताएको छ।
बटेश्वर गाउँपालिकाका स्थानीय सन्त कुमार सिंहले भने, 'असारको पहिलो हप्ता बित्न लागेको छ। तर, पानी पर्ने अत्तोपत्तो छैन। यस्तो अवस्थामा धानको ब्याड कुनै तरिकाले लगाए पनि ढिलो गरी धान रोप्यो भने रोग लागेर बाली नष्ट हुन्छ।’
प्रदेश सरकार अन्तर्गतको कृषि ज्ञान केन्द्र धनुषाका अनुसार जिल्लामा कुल १ लाख १९ हजार हेक्टरमध्ये ७६ हजार हेक्टर जमिन खेतीयोग्य छ।
त्यसमध्ये सिंचाइको सुविधा र साधनश्रोत भएका किसानले १५ देखि २० हजार हेक्टरमा जेनतेन रोपाइँ गर्दै आएपनि अकासेपानीको भरमा खेती हुने करिब ५० हजार हेक्टर जमिनका लागि छरिएको बीउ समेत ब्याडमै सुक्न थालेको छ।
जिल्लाको ३८ हजार ८ सय ३५ हेक्टर क्षेत्रफल जमिनमा सिँचाइको सुविधा उपलब्ध गराउँदै आएको कमला सिंचाई आयोजनाले यसपटक खासै प्रभाव पार्न सकेको छैन।
सरकारले धनुषालाई धानबालीको पकेट क्षेत्र घोषणा गरी किसानलाई व्यवसायिक रुपमा खेती गर्न सिंचाईको वैकल्पिक उपाय निकाल्न सकेको छैन।
पानी अभावका कारण बीउ नै सुक्न थालेपछि उत्पादनमा कमि हुने निश्चित रहेको कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शंकर प्रसाद साहको अनुमान छ।
समयमा पानी नपरेकाले उत्पादनमा समेत ह्रास आउने खतराले किसानहरू चिन्तित बनेका छन्।
सरकारले सिंचाइ र कृषिजन्य सामग्रीको उत्पादन बढाउन बर्सेनी करोडौं रुपैयाँ खर्चिने गरे पनि लक्षित वर्गसम्म नपुग्दा किसानहरू मर्कामा पर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।