काठमाडौं– उपचारका लागि वीर अस्पतालमा भर्ना भएका सांसद रेशम चौधरीको खुट्टामा लगाइएको साङ्लो हटाइएको छ।
संविधान घोषणा हुनु एक महिनाअघि भएको टीकापुर घटनाको अभियोगमा जेल परेका चौधरीलाई उपचारका क्रममा पनि १४ किलोको साङ्लो बाँधिएको थियो। साङ्लो बाँधिएको तस्बिर सार्वजनिक भएसँगै चौतर्फी विरोध भएको थियो। उनलाई लगाइएको साङ्लो शुक्रबार बेलुका नै हटाइएको छ।
यसैबीच, साङ्लो लगाउने कार्यमा संलग्नलाई कारबाही गर्न प्रधानमन्त्री केपी ओलीले निर्देशन दिएका छन्। 'उपचारका लागि लैजाँदा जसले साङ्लो बाँधे, उनीहरुलाई कारबाही गर्न प्रधानमन्त्रीले मुख्य सचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिनुभएको छ', प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले नेपाल लाइभसँग भने।
फोक्सो र बोनम्यारोमा समस्या देखिएपछि चौधरीलाई वीर अस्पताल भर्ना गरिएको हो। कम्मर र ढाडमा दुखाइ भएपछि उनले अहिले फिजियो थेरापीसमेत गराउँदै आएका छन्। स्थिति सामान्य भए पनि उनी अस्पतालमा बैसाखीकाे सहारामा आएका थिए।
थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीमा ८ प्रहरी अधिकारीसहित ९ जनाको ज्यान जाने गरी भएको टीकापुर काण्डका मुख्य दोषी ठहर भएका चौधरी यतिबेला कैद भुक्तान गरिरहेका छन्। कैलाली जिल्ला अदालतले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।