काठमाडौं- सार्वजनिक रुपमै निरन्तर अमर्यादित भाषा प्रयोग गरी विवादमा तानिएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीका विषयमा पार्टीले छानबिन गर्ने भएको छ।
पत्रकारलाई धम्कीका साथै महिलाहरुको चरित्र हत्या गर्ने खालका अपशब्द प्रयोग गरेकाले उनीमाथि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले छानबिन गर्ने भएको हो। यसबारे भोलि आइतबार छलफल हुने सुनसरी नेकपा जिल्ला अध्यक्ष पप्पु मण्डलले जानकारी गराए।
नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले मेयर चौधरीलाई पत्रकारसँग पुनः त्यस्तै व्यवहार नगर्न निर्देशन दिएको बताए। उनले भने, ‘पत्रकारको विषय हल हुँदै गएपछि पुनः अपाच्य खालका अभिव्यक्तिहरु आएको सुनिएको छ। जिल्लाका नेताहरुलाई पनि उहाँ (चौधरी) का बारेमा कुरा गर्न भनिएको छ।’
चौधरीसँग पार्टीले कुरा गरिसकेपछि चित्त बुझ्दो जवाफ भएन भने थप कदम चालिने घिमिरेले जानकारी गराए।
प्रदेश कमिटी सदस्यसमेत रहेका चौधरीको बोली अशोभनीय र पार्टी हितविपरीत रहेको प्रदेश कमिटीलाई जानकारी गराएको जिल्ला अध्यक्ष मण्डल बताउँछन्। ‘मेयरको बोलीले पार्टीको पनि बद्नाम गरेको छ,' नेपाल लाइभसँग कुरा गर्दै उनले भने, 'उहाँलाई के गर्ने भन्ने विषयमा आइतबार बैठक राखिएको छ।’
कतिपय कुरा भ्रष्टाचारसँग जोडिएको बताउँदै मण्डलले भने, ‘केहीकेही कुरामा उहाँ पनि उद्दण्ड हुनुहुन्छ। सबै कुरा हेरेर उहाँमाथि छानबिन हुन्छ।’
यसैबीच, महिलाहरुमाथि चौधरीले अपशब्द बोलेको सन्दर्भमा महिला संघसंस्थाहरुले पनि आइतबार इटहरीमा बैठक डाकेको बताइएको छ।
सम्बन्धित समाचार:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।