काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरुले राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेश तत्काल पारित गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग आग्रह गरेका छन्।
मंगलबार साँझा शितल निवासमा भएको भेटमा राजपा अध्यक्ष मण्डलका नेताले सरकारले पठाएको अध्यादेश पारित गरेर राजनीतिक निकासको ढोका खोल्न राष्ट्रपतिसमक्ष आग्रह गरेका हुन्।
राष्ट्रपतिलाई भेट्न राजपा अध्यक्ष मण्डलका पाँच जना नेता शितल निवास पुगेका थिए। महेन्द्र यादव भने भेटमा सामेल थिएनन्।
अध्यादेशमा राजनीतिक सहमति जुटाउने प्रयास स्वरुप राष्ट्रपति भण्डारीले मधेश केन्द्रित दल राजपाका नेतालाई छलफलमा बोलाएकी थिइन्। भेटमा राष्ट्रपतिलाई विवादमा नपर्न सुझाव दिएको राजपा अध्यक्ष मण्डलका एक नेता राजकिशोर यादवले बताए। अध्यादेश जति रोकिन्छ पुरानो सरकारलाई त्यति नै फाइदा पुग्ने भन्दै अध्यादे पारित गर्न राष्ट्रपतिलाई सुझाव दिएको उनले बताएका छन्।
राष्ट्रपति भण्डारीले राष्ट्रियसभा निर्वाचन अध्यादेश राजपा नेपालका नेतासँग राय मागेकी थिइन्। राजपाका नेताहरुसँगको छलफलमा राष्ट्रपति भण्डारीले अध्यादेशका विषयमा राजनीतिक दलहरु धैयतापूर्वक चिन्तनमनन गर्न अग्रसर हुनुपर्ने धारणा राखेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारी जानकारी दिए।
सरकारले करिब ३ महिना अगाडि पठाएको राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेश राष्ट्रपतिले परामर्शका लागि भन्दै रोकेर राखेपछि राष्ट्रियसभा गठनसँगै नयाँ सरकार गठनको प्रक्रिया रोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।