काठमाडौं– पशुपतिनाथ मन्दिर परिसरमा अब सवारी साधन लैजान नपाइने भएको छ। पशुपति क्षेत्र विकास कोष, महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल प्रहरीको समन्वयमा पशुपति मन्दिर परिसरमा सवारी साधन निषेध गरिएको हो।
पशुपति क्षेत्रमा आउने भक्तजन, तीर्थयात्री, मलामी तथा पर्यटकलाई आवतजावत गर्न कठिनाइ परेकाले सवारी साधनहरुलाई पूर्ण रुपमा निषेधित गरिएको हो।
कोषका सदस्य–सचिव डा प्रदीप ढकालले पशुपति क्षेत्रमा आउने भक्तजन र पर्यटकलाई आवतजावत गर्न सजिलोका लागि सवारी निषेध गरिएको बताए। उनले एम्बुलेन्स र शवबहानबाहेक अन्य सवारी साधान निषेध गरिएको जानकारी दिए। अन्य सवारीका लागि वनकाली धर्मशाला अगाडिको मैदानमा पार्किङको व्यवस्था गरिएको जानकारी दिए।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी सर्वेन्द्र खनालले पशुपति क्षेत्रमा आउनेको सवारीसाधन व्यवस्थापन गर्न निश्चित स्थानमा पार्किङ, वान वे र निषेधित क्षेत्र तोकिएको बताए
मंगलबारदेखि लागु हुने गरी पशुपति क्षेत्रमा सवारी निषेध गरिएको हो। जसअनुसार दक्षिणा मूर्तिदेखि सवारी प्रवेश निषेध, इटापाखादेखि भुवनेश्वरी चोकसम्म, दयुटोलबाट मन्दिर पश्चिम ढोकासम्म, गौशालादेखि भुवनेश्वरी चोकसम्म, वनकाली धर्मशाला अगाडिदेखि भकुण्टोलसम्म र चारशिवालय चोकदेखि दक्षिण ढोकासम्म शवबहान र एम्बुलेन्सबाहेक अन्य सवारी निषेध गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।