काठमाडौं– एक साताअघि सशस्त्र प्रहरी मुख्यालयको स्टोरमा सशस्त्र प्रहरीकै हवल्दारले आगलागी गरेको पुष्टि भएको छ। लेखा शाखामा कार्यरत हवल्दार रामकृष्ण श्रेष्ठले आगो लगाएको अनुसन्धानमा खुलेको छ। श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।
श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानमा बोलाएको थियो। आफु फस्ने भएपछि आर्थिक कारोबारका महत्वपूर्ण कागजपत्र जलाउने उद्देश्यले आगो लगाएका हुन्। महानगरीय अपराध महाशाखाले मंगलबार उनलाई पक्राउ गरेको हो। श्रेष्ठले पेट्रोल छर्किएर आगो लगाएको खुलेको छ। पक्राउ परेपछि श्रेष्ठले आगो लगाएको स्वीकारेको अपराध महाशाखाका डिएसपी प्रजित केसीले बताए।
स्रोतका अनुसार अन्य हाकिमहरुको समेत मिलेमतोमा आगो लगाइएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। लेखा शाखामा काम गर्ने अन्य कर्मचारीको समेत त्यसमा मिलेमतो देखिएको छ। सशस्त्र प्रहरीले एआइजी प्रेम शाहीको संयोजकत्वमा समिति गठन गरेर आन्तरिक छानबिन गरेको थियो। आगो लागेको स्टोर कोठामा आर्थिक कारोबारमा महत्वपूर्ण फाइलहरु राखिएको थियो। जसका बारे अख्तियारले छानबिन गर्दै आएको थियो। सोमबार राति १ बजे सशस्त्रको स्टोरमा आगो लगाइएको थियो। २ वटा दमकलले आगो निभाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।