काठमाडौं– सरकारी कर्मचारीकै मिलेमतोमा राजधानीमा मंगलबार भएको एक टेण्डरमा गुन्डागर्दीमा संलग्न व्यक्तिहरुले टेण्डर हाल्न गएका व्यवसायीलाई कुटपिट गरी नियन्त्रणमा लिएका छन्। अरुलाई टेण्डर हाल्न नदिन डिल्लिबजारस्थित हुलाक सेवा कार्यालयभित्रै यस्तो गुन्डागर्दी भएको हो।
टेण्डर हाल्न गएका भारतीय व्यापारी रवि अग्रवालले अन्य व्यवसायीलाई टेण्डर दर्ता गर्नबाट रोक्न गुन्डाहरु परिचालन गरेका हुन्। उनले बारकोड नेपालका संचालक हेमेश्वर मल्ल र कर्मचारी राजीव महतोलाई कुटपिट गरी विभागको गेटबाट भित्र छिर्नै नदिएका हुन्। कृष्ण इन्टरप्राइजेज नामक कम्पनीका संचालक अग्रवालले आफुले मात्र टेण्डर हाल्न त्यसरी गुन्डागर्दी गरेको पीडितले बताएका छन।
उनीहरुलाई कुटपिट गरी १२ बजेभित्र विभागमा छिर्न रोकेका थिए, जसमा विभागका कर्मचारी र सुरक्षा गार्ड समेत मुकदर्शक बनेका थिए। १२ बजेपछि मात्र उनीहरुलाई दर्ता शाखामा जान दिइएको थियो। त्यसपछि कर्मचारीहरुले टेण्डर निवेदन स्वीकृत नै गर्न नमानेको पीडितले बताएका छन् । विभागका उच्च अधिकारीहरुसँग गुनासो गर्दा समेत उनीहरुले नसुेको पीडित व्यवसायीहरुले बताएका छन्। गुन्डागर्दीपछि अग्रवालले मात्र टेण्डर दर्ता गर्न पाए।
पीडितले आफुहरुमाथि कुटपिटमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरी महानगरीय प्रहरी वृत्त कमलपोखरीमा निवेदन दिएका छन्। कुटपिटमा संलग्नहरुको खोजी भइरहेको वृत्तका डिएसपी कुलदिप चन्दले बताए। टेण्डरको दिन अनिवार्य रुपमा प्रहरीलाई जानकारी दिने सिष्टम भएपछि विभागका कर्मचारीले प्रहरीलाई समेत जानकारी दिएका थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।