काठमाडौं- युवा जनशक्तिलाई स्वदेशमै स्वरोजगार बनाउने लक्ष्यमा सघाउ पुर्याउन उद्योग मन्त्रालय र राष्ट्रिय युवा परिषद्बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।
उद्योगमन्त्री सुनीलबहादुर थापा, राज्यमन्त्री रेशमबहादुर लामा र सचिव यामकुमारी खतिवडाको उपस्थितिमा औद्योगिक प्रवर्द्धन महाशाखाका सहसचिव प्रदीपकुमार कोइराला र युवा परिषद्का उपाध्यक्ष माधवप्रसाद ढुंगेलले आज समझदारी पत्रमा हस्ताक्षर गरे।
स्थानीय स्रोतसाधन परिचालन गरी कृषि, वन, पर्यटन, परम्परागत सिप र सेवामा आधारित उद्यमको माध्यमद्वारा गरिब तथा बेरोजगार युवालाई उद्यमशील बनाउन उक्त समझदारीले सघाउ पुर्याउने बताइएको छ।
सो कार्यक्रम कार्यान्वयनबाट युवा उद्यम कार्यक्रम तथा विकासका लागि आवश्यक पर्ने व्यवस्थापन तथा प्रविधि खरिद गर्न युवालाई बिनाव्याज ऋण उपलब्ध गराउनुका साथै ज्ञानसिप प्रदान गर्ने र स्थानीय स्रोत साधनको अधिकतम प्रयोग गरी स्वरोजगार बनाउन सहयोग पुग्नेछ।
कार्यक्रममा उद्योगमन्त्री थापाले बेरोजगार युवालाई स्वरोजगार बनाउनुपर्नेमा जोड दिँदै युवालक्षित कार्यक्रम कार्यान्वयनका लागि यस समझदारीबाट ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।
सम्झौतापश्चात् परिषद्मार्फत युवा उद्यम विकास कार्यक्रम निर्देशिका, २०७३ बमोजिम ‘एक निर्वाचन क्षेत्रको एक वडामा दस युवा एक उद्यम’ कार्यक्रम कार्यान्वयन गर्न युवा उद्यमी छनौट गरी स्थानीयस्तरमा सिप विकास तालिम सञ्चालन तथा प्रविधि हस्तान्तरण गरिने मन्त्रालयले जनाएको छ। यसको कार्यान्वयनबाट मुलुकभित्रै रोजगारी सिर्जना गरी आगामी १० वर्षभित्र श्रमका लागि विदेश जानेक्रम न्युनीकरण हुने अपेक्षा गरिएको छ।
समझदारीपत्रअनुसार मन्त्रालय मातहतका निकायबाट उद्यमशीलता विकासलगायत विभिन्न विषयमा सिप विकास तालिम प्रदान गरिनेछ। परिषद्बाट देशका सबै जिल्लामा जिल्ला युवा समितिको कार्यालयमार्फत युवा लक्षित विभिन्न कार्यक्रम सञ्चालन हुनेछन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।