दमक- जाडो बढेसँगै ग्रामीण बस्तीमा रहेका सामुदायिक विद्यालयमा नियमित विद्यालय आउने विद्यार्थीको संख्या घट्न थालेको छ।
पुस लागेसँगै चिसो बढेपछि दुर्गम बस्तीका विद्यालयमा विद्यार्थी घट्न थालेका हुन्। जाडोले गर्दा कमजोर आर्थिक अवस्था भएका विपन्न समुदायका बालबालिकाको पठनपाठनमा समस्या हुँदै गएको छ।
यतिबेला दुर्गम गाउँका विद्यालयमा आधाभन्दा बढी नै विद्यार्थीको संख्या घट्न थालेको त्यहाँका विद्यालयले जनाएका छन्। गौरीगञ्ज गाउँपालिका–१ महाभारास्थित बालकल्याण माविका प्रअ भोलाप्रसाद खतिवडा विद्यालयमा अधिकांश विपन्न वर्गका विद्यार्थी भएकाले जाडोमा उनीहरुको संख्या निकै कम हुने बताउँछन्। जाडो छल्ने खालका लुगा नहुँदा सधैझैँ विद्यार्थीको हाजिरी अनुपात घटेको छ।
चिसो बढेसँगै विद्यालय आउने संख्यामा कमी हुनाका साथै जनजीवन कष्टकर बन्दै गएकाले नियमित पठनपाठनमा नै समस्या हुँदै गएको उनले बताए। 'न्यानो कपडा र पर्याप्त तातो खानेकुरा खाजाको अभावमा कतिपय बालबालिका विद्यालय आउन छाडेका छन्।'
कतिपय बालबालिका चिसोकै कारण विद्यालय नआउने र बीचैमा विद्यालय छाड्ने गरेको खतिवडाको बुझाइ छ। 'एक दुई दिन गर्दै कतिपय बालबालिकाले स्कुल नै छाड्ने गरेको उदाहरण प्रशस्तै छन्,' उनले भने।
सोही वडामा पर्ने होक्कलबारीस्थित इन्द्रेणी आधारभूत विद्यालयका प्रअ शिवकुमार मैनालीका अनुसार चिसो अझै बढ्ने हो भने ९० प्रतिशत बालबालिका स्कुल आउनै छाड्छन्।करिब एक विद्यार्थी पढ्ने गरेको इन्द्रेणीमा ८४ प्रतिशत बालबालिका सीमान्तकृत र आदिवासी समुदायका छन्। तीमध्ये ५३.३९ प्रतिशत बालबालिका सन्थाल समुदायका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।