कञ्चनपुर- कृषि विभागका उपमहानिर्देशक सूर्यप्रसाद पौडेलले नयाँ संरचनामा (संघीयतामा) कृषि कार्यालयलाई कसरी समायोजन गर्नेबारे जानकारी लिन जिल्लाका विभिन्न कार्यालयको अवलोकन गरेका छन्।
उपनिर्देशक पौडेलले कृषि विकास कार्यालय, प्लान्ट क्वारेन्टाइन कार्यालय, महेन्द्रनगरस्थित तरकारी बजार, क्षेत्रीय कृषि तालीम केन्द्र, क्षेत्रीय बाली संरक्षण प्रयोगशाला, क्षेत्रीय माटो परीक्षण प्रयोगशाला, बेलौरीस्थित कृषि सेवा केन्द्र र कैलालीको त्रिनगर भन्सार नजिकै रहेको प्लान्ट क्वारेन्टाइन कार्यालयको अवलोकन गरेका हुन्।
'सबै कार्यालयमा कर्मचारी अभाव रहेको पाइयो, स्थानीय तहमा समायोजन गरिएपछि कार्यालय सञ्चालन गर्न गाह्रो भएको रहेछ,' उनले भने। कृषि कार्यालयसँग असार महिनासम्मका लागि योजना र केही बजेट भएकाले तत्काल समायोजन हुने सम्भावना नरहेको उनको भनाइ थियो। मन्त्रालयबाट पत्र आउनासाथ कार्यालय समायोजन हुने उनले बताए।
केही महिनाभित्रै कृषि सेवा केन्द्र हस्तान्तरण गर्नेसमेत उनले जानकारी दिए।
प्लान्ट क्वारेन्टाइन कार्यालय गड्डाचौकीमा एक सुब्बा र एक अधिकृत, त्रिनगरमा एक प्राविधक सहायकको भरमा कार्यालय सञ्चालन तथा क्षेत्रीयस्तरका कृषि विभाग अन्तर्गतका कार्यालयमा कर्मचारीले काज मिलाएर अन्य कार्यालयमा जाने प्रचलनका कारण कर्मचारी अभाव रहेको पाइएको उनले बताए।
'कार्यालय समायोजनपछि सबै कार्यालयमा कर्मचारी पदपूर्ति हुन्छ,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।