पाल्पा- रुम टु रिड र बेस नेपाल, पाल्पाद्वारा सञ्चालित २५ पुस्तकालय सामुदायिक विद्यालयलाई हस्तान्तरण गरिएको छ।
पाल्पा जिल्लामा एकीकृत साक्षरता कार्यक्रमअन्तर्गत पहिलो चरणमा सञ्चालित २५ पुस्तकालय विद्यालयलाई नै हस्तान्तरण गरिएको हो। हस्तान्तरणअघि पुस्तकालयको देखदेख तथा व्यवस्थापन रुम टु रिड र बेस नेपालले हेर्दै आएका थिए।
जिल्ला शिक्षाको सहकार्यमा सन् २०१४ देखि सञ्चालित कार्यक्रमको समय अवधि सकिएपछि कार्यक्रम गरेर बेस नेपाल र रुम टु रिडले विद्यालयलाई नै पुस्तकालय हस्तान्तरण गरेको रुम टु रिड पाल्पाका कार्यक्रम अधिकृत राधाकृष्ण हुमागाँईले बताए।
सबै विद्यालयका प्रधानाध्यापक, साक्षरता समिति, पुस्तकालयाध्यक्ष, सहायक पुस्तकालयाध्यक्ष सहित दर्जनभन्दा बढी शिक्षकलाई पुस्तकालय नियमित सञ्चालन तथा पुस्तकालयमा गरिने क्रियाकलापको तालीम दिएकाले विद्यालयले पुस्तकालय चलाउन सक्षम भएको रुम टु रिडका सहायक कार्यक्रम अधिकृत एलबी खड्काले बताए।
सो कार्यक्रमअन्तर्गत विद्यालयमा पुस्तकालय स्थापना, झन्डै तीन हजारदेखि तीन हजार पाँच सयसम्म पुस्तक, र्याक, कार्पेट, कुसनदेखि पुस्तकालयका दर्जनौँ चार्ट, रजिष्टर एवं कक्षा १ देखि ५ कक्षासम्मलाई नियमित दैनिक क्रियाकलापको लागि उपयुक्त घण्टी व्यवस्थापन र शिक्षकलाई तालिम दिएर दक्ष बनाइएको छ।
नवदुर्गा मावि रामपुरका प्रधानाध्यापक कृष्णप्रसाद पाण्डेले विद्यालयमा पुस्तकालयलाई अझ आकर्षक बढाउन थप काम गरेको बताए। अहिले विद्यालयको पुस्तकालयमा चार हजार ५० थान पुस्तक छन्।
पाल्पाका ७५ सामुदायिक विद्यालयमा यो कार्यक्रम सञ्चालनमा रहेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।