काठमाडौं- नेपाल र चीनबीच क्रसबोर्डर रेल्वे निर्माणको संभाव्यता अध्ययनका विषयमा छलफल भएको छ। बिहिबार सो सम्बन्धमा नेपाली प्रतिनिधि र चिनयाँ पक्षबीच बेइजिङमा छलफल सम्पन्न भएको बेइजिङस्थित नेपाली दूतावासले जानकारी दिएको हो।
बैठकमा भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव देबेन्द्र कार्की नेतृत्वको टोली र चीनका राष्ट्रिय रेल प्रशासनका उपप्रशासक श्री आन लुशङ नेतृत्वको टोलीबीच छलफल भएको थियो।
उक्त बैठकमा दुवै पक्षबीच नेपालमा रेल्वे क्षेत्रको विकासका लागि प्राविधिक ज्ञानको विकास एवम् मानवस्रोतको क्षमता अभिवृद्धि¸ रेल्वे इन्जिनियरिङ सम्बन्धी अध्ययन र तालिमको व्यवस्था¸ क्रसबोर्डर रेल्वेको सम्भाव्यता अध्ययन एवम् रेल्वे सहयोग सम्बन्धी आपसी हितका विविध विषयमा छलफल भएको थियो। सो अवसरमा चीनको सियानस्थित फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटका प्रतिनिधिका तर्फबाट सो संस्थाले नेपालका रेल्वे इन्जिनियरहरुलाई उपलब्ध गराउने तालीमका बारेमा ब्रिफिङ गरिएको थियो।
बैठकमा सचिव कार्कीले दुई देशबीच यातायात सम्पर्कको विस्तारका लागि रेल्वेको भूमिका महत्त्वपूर्ण रहने बताउँदै नेपालमा रेल्वे क्षेत्रको विकासका लागि चीनले प्रदान गर्दै आइरहेको सहयोगप्रति आभार प्रकट गरेका थिए।
त्यस्तै‚ चिनियाँ पक्षका उपप्रशासक लुशङले नेपालमा रेल्वे विकासका लागि दुईपक्षीय सहयोग अन्तर्गत भइरहेको कार्यको प्रगतिप्रति सन्तोष प्रकट गरे।
१७ जुनमा चीन पुगेको नेपाली प्रतिनिधिमण्डल २२ जुनमा नेपाल फर्कने कार्यक्रम छ।
नेपाल‒चीन रेल्वे सहयोग सम्बन्धी पाँचौँ द्विपक्षीय बैठक काठमाडौँमा आयोजना हुनेछ।
सो बैठकको मिति दुई पक्षबीचको आपसी परामर्शमा तय गरिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।