प्रमोदकुमार यादव रुपन्देही ४ बाट विजयी सांसद हुन्। नेपाली कांग्रेसका उम्मेदवारका रुपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका यादवले ३१ हजार ७ सय १८ मत पाए। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय जनता पार्टी (राजपा)का सर्वेन्द्रनाथ शुक्लले २० हजार ४ सय १६ मत मात्रै पाए।
पहिलो पटक सांसद भएका यादवसँग 'संसदमा नयाँ अनुहार' शृंखलाका लागि नेपाल लाइभका किशोर दहालले गरेको कुराकानीः
तपाईंको पार्टी नेपाली कांग्रेसले यो चुनावमा खासै सुखद नतिजा निकाल्न नसकेको यो चुनावमा तपाईं भने विजयी हुनुभयो। जनताले तपाईंलाई के कारणले मत दिए भन्ने लाग्छ?
मेरो क्षेत्रमा पहिलेदेखि अन्य पार्टीले जित्दै आएका थिए। तर, जनतालाई भने ध्यान दिएनन्। विकास गरेनन्। त्यसैले अब कांग्रेसले नै विकास गर्छ भन्ने उनीहरुलाई लाग्यो। त्यही कुरा सोचेर नै मलाई विजयी बनाए भन्ने लाग्छ।
तपाईंको व्यक्तित्व र विगतका कामको पनि प्रभाव पर्यो होला नि!
म लामो समयदेखि राजनीति गरिरहेको व्यक्ति होइन। खासमा होटल व्यवसायी हुँ। पेट्रोल पम्प पनि छ। तर, सबै पार्टीलाई सहयोग गर्दै आएको थिएँ। जातीय समीकरण मिलेपछि कांग्रेसबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेँ। पार्टीको सहयोग पनि रह्यो। मुख्य कुरा त जनतालाई केही हुन्छ भन्ने विश्वासले नै जित सम्भव भयो भन्ने लाग्छ।
तर कांग्रेसले निकै कम ठाउँमा जितेको छ। अब सरकारमा पुग्ने सम्भावना पनि निकै न्यून छ। कसरी विकास गर्नुहुन्छ?
यहाँ ४० वर्षदेखि कसैले केही विकास गरेको छैन। अब स्थानीय तहबाट केही न केही बजेट आउँछ। प्रदेशले पनि केही त गर्छ नै। मैले पनि सम्भव भएसम्मका पहल गर्ने नै छु। पार्टीलाई पनि भूमिका खेल्न लगाउँछु। जति सकिन्छ, त्यति गर्ने हो।
तपाईं पहिलो पटक सांसद बन्नुभयो। संसद् कसरी चल्छ, त्यहाँका काम-कारबाही कसरी सम्पन्न हुन्छन् भन्ने जानकारी छ?
अहिले त पूरा जानकारी छैन। तर बिस्तारै-बिस्तारै सिकिन्छ नि!
तपाईंका योजनाहरु के-के छन्?
मेरो क्षेत्रमा अस्पताल छैन। स्वास्थ्य चौकीहरु पनि व्यवस्थित छैन। प्राविधिक कलेजहरु छैनन्। स्कुल पनि राम्रो छैन। सिँचाइको व्यवस्था राम्रो छैन। बाटोघाटोको कुरै नगरौं, हाम्रो क्षेत्रमा बाटो नै छैन। समस्याहरु यस्तै छन्। जनताले पनि यस्तै समस्या समाधान हुने आसमा मलाई जिताएका हुन्। हाम्रो सरकार नबने पनि हामी यहाँको विकासको लागि पहल गरि नै रहनेछौं। हेरौं, मेरो पहलले कतिसम्म समाधान गर्न सक्छु। तर, राम्रै होला भन्ने आस छ।
तपाईंलाई सांसद बनाउने जनतालाई केही भन्न चाहनुहुन्छ?
त्यहाँको जनताले मलाई जिताएपछि जनता नै सांसद हो, जनता नै विधायक हो। जनताले नै चुनाव जितेको हो। म पनि जनतै हो। जनताकै साथमा रहेर काम गरेँ। त्यसैले मलाई जिताए। यसका लागि धन्यवाद भन्न चाहन्छु। जनताको चाहना अनुरुपको विकास गर्ने प्रयास गर्नेछु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।