काठमाडौं- महानगरीय प्रहरी परिसर काठमाडौंले पूर्व डिआइजी नवराज सिलवालको समाचारबारे केही पत्रकारसँग सम्बन्धित कागजात माग्दै गरेको पत्राचारप्रति नेपाल प्रेस युनियनले आपत्ति प्रकट गरेको छ।
प्रेस युनियनले सोमबार एक विज्ञप्तिमार्फत केही सञ्चार माध्यममा तत्कालीन डिआइजी सिलवालको सक्कली र नक्कली भनिएका कार्यसम्पादन मूल्यांकन प्रकाशित भएको सन्दर्भमा सोको स्रोत समेत खुलाई कागजात उपलब्ध गराइदिन गरिएको पत्राचारप्रति ध्यानाकर्षण भएको जनाएको हो।
'स्वतन्त्र प्रेसले समाजको विभिन्न विषयमा आफ्ना स्रोतबाट प्राप्त सामग्रीलाई प्रस्तुत गर्न सक्छ र यसको स्रोत खोल्न बाध्य पारिने छैन भन्ने मान्यतालाई यो पत्रले ठाडै उल्लंघन गरेको छ', महासचिव अजयबाबु शिवाकोटीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सम्मानित अदालतले अनुसन्धान गर्न दिएको आदेशपछि अनुसन्धान गर्नुपर्ने निकाय प्रहरीले आफ्नो सहजताको लागि सञ्चार माध्यमलाई स्रोत खोल्न भन्नुभन्दा सो प्रकरणमा आरोपित र त्यस प्रकरणबाट फाइदा पाउने पक्षलाई नै अनुसन्धानको दायरामा ल्याएर बुझ्नु उपयुक्त हुने युनियनको ठहर छ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मूल्य र मान्यता, नेपालको संवैधानिक र कानुनी प्रावधानको मान्यता विरुद्ध पत्रकारलाई निरुत्साहित गर्ने ढंगले उहाँहरुको काममा अवरोध नपुर्यानउन युनियनले सम्बन्धित सबैलाई सचेत हुन अग्रह समेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।