काठमाडौं– वैदेशिक रोजगार विभागले बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा छापा मारेको छ। सिनामंगलको मिता म्यानपावर कम्पनीले अवैध रुपमा नेपाली कामदार लैजान अन्तर्वार्ता लिइरहेका बेला छापा मारिएको हो।
कुनै प्रक्रिया नै पूरा नगरी ११ सय नेपालीलाई साउदी पठाउन लागिएको सूचनाको आधारमा विभागको टोली बुधबार फुडल्यान्ड पुगेको थियो। सेटिङमा कामदार लैजान साउदी दूतावासका कर्मचारीको समेत संलग्नता रहेको जानकारी पाएपछि छापा मारिएको विभागको भनाइ छ।
विभाग र प्रहरीको टोलीले कागजात नियन्त्रणमा लिँदै अन्तर्वार्ता पनि रोकेको छ। सञ्चालकलाई २४ घन्टाभित्र विभागमा हाजिर हुन निर्देशन दिइएको विभाग स्रोतले जानकारी दिएको छ।
११ सय जनालाई तीन महिनाका लागि रोजगारी दिने भन्दै अन्तर्वार्ता लिइरहेका बेला विभागको टोली पुगे पनि म्यानपावर सञ्चालकले ढाँटेका थिए। तर एसजिएस कम्पनीका लागि यो म्यानपावरले ५३ जनाको लागि मात्रै स्वीकृति लिएको थियो।
पहिले नै स्वीकृति लिएको १ सय २७ जनाका लागि अन्तर्वार्ता लिइरहेको र कम्पनी राम्रो भएकाले दूतावासका समेत कर्मचारी आएको म्यानपावर सञ्चालकले विभागका कर्मचारी समक्ष दाबी गरेका थिए। तर विभागले यो प्रक्रियावाट कामदार जान दिन नमिल्ने भन्दै उक्त अन्तर्वार्ता नै रोकेको हो।
मिता म्यानपावर कम्पनीका सञ्चालक, साउदीको कम्पनीका चार जना र नेपालस्थित साउदी दूतावासका कर्मचारीको सहभागितामा अन्तर्वार्ता भइरहेको सूचना विभागमा आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।