काठमाडौं- ३८ सय किलो सुन तस्करी र शनम शाक्य हत्या प्रकरणमा न्यायपरिषदले ३ न्यायाधीशलाई न्याय परिषद ऐन विपरीतको कार्यमा संलग्न भएको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
परिषदले मुख्य न्यायाधीश कुलरत्न भुर्तेलसहित ५ न्यायाधीशलाई भने सफाई दिएको छ।
परिषदले मुख्य न्यायाधीश भुर्तेल, न्यायधीशहरू सारगा सुवेदी,जनक पाण्डे, उमेशराज पौडेल र नागेन्द्र लाभ कर्णको उजुरी तामेलीमा राख्ने निर्णय गरेको हो।
परिषदका एक सदस्यका अनुसार उनीहरुको संलग्नता पुष्टि हुन नसकेकाले र पौडेल र कर्णले अवकाश पाएकाले उजुरी तामेलीमा राखिएको हो।
दुई न्यायाधीशमाथि गम्भीर परिषद
सुन तस्करी प्रकरणमा धरौटी छोड्ने आदेश गर्दा न्यायिक विचलनमा परेको अभियोगमा दुई न्यायाधीशका विषय भने परिषदले गम्भीर रुपमा लिएको छ।
परिषदले पहिलो चरणमा उनीहरुलाई परिषद ऐनको दफा १०,११ र १२ को अधिकार उल्लंघन हुने कार्यमा संलग्न भएको बारेमा सफाई पेस गर्ने मौका दिने निर्णय गरेको छ।
परिषदले उनीहरुलाई भ्रष्टाचार मुद्दा दर्ता गर्ने विषयमा सेवाबाट हटाउन सक्नेसम्मको कारबाही गर्ने बारेमा आफ्नो भनाई राख्न भनेको छ।
परिषदले न्यायाधीशद्वय थीरबहादुर कार्की र उमेशकुमार सिंहलाई गम्भीर प्रकृतिको संलग्न देखिएको भन्दै ७ दिनभित्र स्पष्टीकरण बुझाउन भनेको छ।
सापकोटालाई सचेत गराउन स्पष्टीकरण
सुन तस्करीको अभियोगमा मुद्दा खेपेका आरोपितलाई न्यून धरौटीमा छुटेको आरोप लागेपछि छानबिनमा रहेको अर्का न्यायाधीश साधुराम सापकोटालाई भने परिषदले किन सचेत नगराउने भन्दै पत्र काटेको छ।
उनलाई पनि सात दिनको अवधि दिँदै यस्तो पत्र लेखेको परिषदका सदस्यले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।