काठमाडौं- अन्य जिल्लामा प्रदेश राजधानीबारे जति गरमागरम बहस चलिरहेको छ, भोजपुरमा यस्तो छैन। प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित यस जिल्लाका सांसदहरु प्रदेश नं १ को नेतृत्व भोजपुरबाट गराउन र जिल्लाको विकास निर्माणमा सडक तथा विद्युतीकरणलाई प्राथमिकता दिन चाहन्छन्।
एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य पाएको जिल्लाबाट प्रतिनिधिसभामा सुदन किराँती निर्वाचित भएका छन् भने प्रदेश सभाको (क) मा राजेन्द्रकुमार राई र (ख) मा शेरधन राईले विजय हासिल गरेका छन्।
२०६४ को संविधानसभामा सांसद निर्वाचित भएका किराँती २०७० मा पराजित भएका थिए। यसपटक वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) को उम्मेदवार भई पुनः विजयी हुन पुगे।
अर्का प्रभावशाली एकाले नेता तथा पूर्वसञ्चारमन्त्री शेरधन राई यसपटक प्रदेशसभातर्फ उम्मेदवार भई प्रदेश सभा (ख) बाट निर्वाचित भए।
'भोजपुरको विकासका लागि सडक र विद्युतीकरण नै प्राथमिकतामा पर्छन्। त्यसपछि खानेपानी, शिक्षा, स्वास्थ्य तथा पर्यटनको विकास गर्नुपर्ने आवश्यकता पनि छ,' राई भन्छन्, 'हामी घोषणापत्रअनुसारका प्रतिबद्धतालाई सूत्रबद्ध गरी काम सु गर्नेछौं।'
प्रदेश नं १ तुलनात्मक रुपमा विकासको सम्भावना भएको प्रदेश भएको उनको भनाइ छ। सर्वोच्च शिखर सगरमाथा, कञ्चनजंघा, मकालुसहित ८ हजार मिटरमाथिका धेरै हिमाल भएकाले पर्यटनको राम्रो सम्भावना रहेको भन्दै उनले थपे, 'अरुण, तमोर लगायत कोशी नदी पनि भएकाले विद्युत् उत्पादनको पनि अपार सम्भावना छ। हामीले यस प्रदेशबाटै भारत, चीन, भुटान र बंगलादेशसँग सडक सञ्जालले जोडी मुलुकको व्यापार विस्तार गरी समृद्धि हासिल गर्न सक्छौँ।'
प्रदेशको राजधानी र नामांकन प्रदेशसभाको दुई तिहाइले मात्र तोक्न सक्ने भन्दै उनले नयाँ सरकार बनेपछि यस क्षेत्रका नागरिकले परिवर्तनको अनुभूत गर्न पाउने बताए।
अर्का सांसद सुदन किराँतीले भोजपुर शैक्षिक र राजनीतिक जागरणका हिसाबले माथि भए पनि विकासमा पछि परी पूर्वकै कर्णाली जस्तै रहेकाले सडक, विद्युत्, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमै ध्यान दिनुपर्नेमा जोड दिएका छन्।
अर्का सांसद राजेन्द्रकुमार राईले पनि भोजपुरको मुख्य समस्या बाटो नै भएको औंल्याए। भोजपुरको उत्तरी क्षेत्रका लागि भने अरुण नदीमाथि लम्सुवाघाटको पुल बनिनसकेका कारण मुख्य राजमार्गसँग जोडिन नसक्दा ढुवानी भाडा महँगो हुन गई उपभोग्य सामग्री महँगो हुने गरेको उनको भनाइ छ।
दोस्रो प्राथमिकतामा विद्युत् सेवा विस्तार र तेस्रोमा खानेपानी पर्ने उनले बताए। भोजपुरको पर्यटन विकासका लागि टेम्के, मैँयु र साल्पापोखरीको विकास गर्न आवश्यक रहेको राईले बताए।
प्रदेश नं १ को राजधानी कहाँ उपयुक्त होला? राई भन्छन्, 'भौगोलिक रुपमा केन्द्रमा पर्ने भएकाले भोजपुर पनि उपयुक्त हो, यदि सो हुन नसकेमा धनकुटा तथा इटहरी पनि भोजपुरका लागि राम्रा विकल्प हुन सक्छ।'रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।