काठमाडौं- संसदीय सुनुवाई विशेष समितिले सरकारद्धारा प्रस्तावित विभिन्न ४ देशका राजदूतहरुको सुनुवाइ प्रक्रिया सुरु गरेको छ।
समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले सरकारद्धारा प्रस्तावित राजदूतहरु अष्ट्रलियाका लागि महेश दाहाल, कतारका लागि नारद भारद्वाज, स्पेनका लागि दावाफुटी शेर्पा र बंगलादेशका लागि डा वंशीधर मिश्रको सुनुवाइका लागि उजुरी आह्वान गर्ने निर्णय गरेको हो।
सरकारद्धारा प्रस्तावित ४ वटै देशका राजदूतहरुको सुनुवाइका लागि उजुरी आह्वान गर्ने निर्णय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।
समितिले प्रस्तावित राजदूतहरुलाई १० दिनसम्म उजुरी आह्वानका लागि म्याद दिने संवैधानिक व्यवस्था छ। त्यसपछि सो उजुरीमाथि छानबिन गरी प्रस्तावित राजदूतहरुको सुनुवाइ हुनेछ। समितिले राजदूतमा प्रस्तावितहरुको नाम अनुमोदन गरेपछि मात्रै राष्ट्रपतिले उनीहरुलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।