काठमाडौं– नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाबाट सम्बोधन गर्न नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने भएका छन्।
'संसदमा जे विषयमा सम्बोधन गर्ने तयारी थियो। त्यही विषय नै पत्रकार सम्मेलनबाट सार्वजनिक गर्नुहुनेछ', प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले नेपाल लाइभसँग भने।
प्रधानमन्त्रीले हालैको युरोप भ्रमण र गुठी विधेयक लगायतका समसामयिक विषयमा रहेको जनचासोका सन्दर्भमा सम्बोधन गर्ने कार्यक्रम थियो। उनले सम्बोधन गर्न नपाएपछि आफू दुःखी भएको बताएका छन्।
आजको बैठकमा कांग्रेसको अवरोधका कारण प्रधानमन्त्री रोस्ट्रममबाटै नबोली फर्किएका थिए। आजको कार्यसूची अनुसार प्रधानमन्त्रीले 'सार्वजनिक महत्वको विषयमा वक्तव्य दिने' कार्यक्रम थियो। प्रधानमन्त्रीअघि प्रतिपक्षी दलको नेताले बोल्न पाउनुपर्ने माग कांग्रेसको थियो।
प्रधानमन्त्रीको पत्रकार सम्मेलन बेलुका ५ बजेका लागि प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आयोजना गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।