काठमाडौं- बढ्दो आतंकवादी हमलासँगै त्यसले नेपालमा निम्त्याउन सक्ने खतराबारे नेपाली सेनाले संवाद थालेको छ।
आतंक/प्रतिआतंकवादमाथि सेनाले संवाद चलाएको यो पहिलो पटक हो। नेपाली सेनाले ‘राष्ट्रिय सुरक्षामा संवाद : प्रतिआतंकवाद’ विषयमा आतइबार राजधानीमा आयोजना गरेको संवाद कार्यक्रमको उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले उद्घाटन गरे।
एक दिने अन्तरक्रिया कार्यक्रममा रक्षामन्त्री पोखरेलले अहिलका राष्ट्रिय सुरक्षाका चुनौतीहरु मुख्यतया अ-परम्परागत रहेको र यसको दायरा राष्ट्रिय सीमाभित्र मात्र सिमित नरहेको उल्लेख गरे।
आतंकवाद मानवता र अन्तर्राष्ट्रिय सुरक्षामा जटिल चुनौती रहेको बताउँदै उनले नेपालको भौगोलिक अवस्थिति र आतंकवादको जटिलताको कारणले समेत यसलाई नियन्त्रण गर्न राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय प्रयासको आवश्यकता रहेको बताए।
विषय विशेषज्ञका रुपमा श्रीलंकाका प्राध्यापक रोहण गुनारत्नले अन्तरक्रियामा भाग लिँदै आतंकवाद कुनै एक देशको समस्या नभई सामुहिक समस्या भएको र यसको निराकरणको लागि आन्तरिक रुपमा राज्यका विभिन्न मन्त्रालय तथा सम्पूर्ण सुरक्षा निकायबीच समन्वय र सहकार्य हुनुपर्ने बताए।
अन्तर्राष्ट्रिय क्षेत्रमा मित्रराष्ट्रहरुबीच समेत आपसी समन्वय, सहयोग र सहकार्य अत्यन्तै महत्वपूर्ण रहेकोमा उनको जोड थियो।
कार्यक्रममा इजरायलका राजदूत बेनी ओमरले आफ्नो देशमा आतंकवादले खडा गरेको चुनौती र त्यसको निराकरणको लागि चालिएका कदमहरुबारे जानकारी गराएका थिए।
विषय विशेषज्ञहरुको प्रस्तुतिपश्चात् भएको अन्तरक्रिया कार्यक्रममा उपस्थित विभिन्नक मुलुकका राजदूतहरुले आ-आफ्नो देशमा प्रतिआतंकवादको लागि भएका व्यवस्थाहरुबारे जानकारी गराएका थिए।
नेपाली सेनाबाट पहिलो पटक प्रतिआतंकवाद विषयमा आयोजना भएको कार्यक्रम फलदायी भएकोले यसलाई निरन्तरता दिनुपर्ने उनीहरुको धारणा राखेका थिए।
कार्यक्रममा विभिन्न देशका राजदूतहरु, नेपाली सेनाका बहालवाला तथा अवकास प्राप्त रथीलगायत अन्य व्यक्तिहरुको समेत सहभागिता रहेको थियो।
आतंकवाद/प्रतिआतंकवाद विषयमा भएको यसखाले छलफलले सम्भावित आतंकवादबाट हुन सक्ने क्षति न्यूनिकरणमा सहयोग पुग्ने नेपाली सेनाको विश्वास छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।