काठमाडौं- बैंक तथा वित्तीय संस्थाका कर्मचारीको क्षमता अभिवृद्धि गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको छ। फाइनान्स एन्ड इन्स्योरेन्स इन्टिच्युट अफ नेपाल (बिएफआइएन) र कोलम्बो प्लान स्टाफ कलेज (सिपिएससी)बीच सोमबार हस्ताक्षर भएको हो। फिलिपिन्सको मनिलामा एक कार्यक्रम बीच सो समझदारी भएको हो।
आयोजनामा फिलिपिन्सको मनिलामा संचालन गरिएको बैंक तथा वित्तीय संस्थाका संचालकहरुको लागि ५ दिने एक्जुकेटिभ लिडरसिप डेभलपमेन्ट प्रोग्राम उद्घाटन समारोहमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो।
समझदारी पत्रमा बिएफआइएनका तर्फबाट प्रबन्ध निर्देशक डा. विनोद आत्रेय र सिपिएससीका तर्फबाट महानिर्देशक डा. रामहरि लामिछानेले हस्ताक्षर गरेका हुन्।
उक्त समझदारी पत्रमा दुई संस्थाबीच समन्वय गरी तालिम, गोष्ठी तथा सेमिनार आयोजना गर्ने, बैंक तथा वित्तीय संस्थाका कर्मचारीको ज्ञान विकासका लागि संयुक्त रुपमा मान्यता प्राप्त शिक्षण संस्थासँग आबद्ध भई ३ महिने, ६ महिने तथा १ वर्षे कार्यक्रमहरु संचालन गर्ने लगायतका विषय समावेश छन्।
डा. आत्रेयले उक्त समझदारीले नेपालको मानव संसाधन विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुग्ने विश्वास रहेको बताए। यसैगरी अर्का हस्ताक्षरकर्ता डा. लामिछानेले बैंक तथा वित्तीय संस्थाका प्रतिष्ठित संचालकलाई स्वागत गरेका थिए।
सो समारोहमा नेपालका प्रतिष्ठित वाणिज्य बैंक, विकास बैंक तथा लघुवित्त संस्थाका २५ जना संचालकको उपस्थिति रहेको थियो।
कोलम्बो प्लान अन्तर्गत सन् १९७३ बाट एशिया प्यासिफिक राष्ट्रको प्राविधिक तथा व्यवसायिक शिक्षा प्रदान गर्दे आइरहेको संस्था हो। यस संस्थाले विभिन्न विषयमा तालिम तथा परामर्श सेवा समेत प्रदान गर्दै आइरहेको छ।
बिएफआइएन इमर्जिङ्ग नेपाल लिमिटेडलगायत वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, लघुवित्त संस्था र पूँजी बजारका १६ संस्था संयुक्त लगानीमा स्थापना भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।