काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकारमा घुसखोरी र गैरकानुनी काम गर्नेका लागि स्थान नहुने बताएका छन्।
सन्तनेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९४औं जन्म जयन्तीमा विशेष अतिथि बनेर बाँडेगाउँ पुगेका ओलीले आगामी सरकारको मुख्य एजेन्डा नै सुशासन रहेको स्पष्ट पारे। करिब आधा घन्टा लामो मन्तव्यका क्रममा अध्यक्ष ओलीले आफूले इमानका साथ काम गर्ने बताए।
‘मानिसमा ज्ञानको सीमा होला, क्षमता र तागतको पनि सीमा होला। तर, इमानको सीमा हुँदैन। सबैलाई साक्षी राखेर भन्छु, म पूर्ण इमानका साथ काम गर्छु’, उनले भने।
अध्यक्ष ओलीले अबको राजनीतिमा बेइमानहरूलाई ठाउँ नहुने पनि स्पष्ट पारे। उनले जनतालाई विकास चाहिएको भन्दै आफूले समग्र विकाको अवधारणालाई सार्थक तुल्याउन काम गर्ने बताए।
‘अब विपक्षीको टाउकोमा सबै कुरा हालेर उम्किन मिल्दैन’, मञ्चमा उपस्थित कांग्रेसी नेतातर्फ इसारा गर्दै उनले भने, ‘प्रकाशमान (सिंह), प्रदीप गिरीको टाउकोमा हालेर हुन्छ?’
ओलीले आफूलाई हलीको छोरा भन्दै दम्भ नभएको बताए।
‘गाउँमा घाँस काटेर, गाईबस्तु चराएर उठेको व्यक्ति हुँ म। मेरो बुवाले पनि त्यही गरेको हो। म शासक वर्गबाट आएको व्यक्ति होइन। त्यसैले ममा दम्भ छैन’, उनले भने।
उनले भारत र चीनतर्फ इंगित गर्दै दुई ठूला देशको बीचमा भए पनि नेपालको आफ्नै गौरवशाली इतिहास रहेकाले देश र पुर्खाप्रति गर्व गर्न सबैलाई आग्रह गरे।
‘हामी त्यति पनि साना देश होइनौं। युएनमा दर्ता भएका देशहरूमध्ये मझौला आकारका छौं’, उनले भने, ‘हामी नजिकै रहेका ठूला देशहरू अरुको उपनिवेश हुँदा हामी स्वतन्त्र थियौं।’
ओलीले जुनसुकै पार्टीको भए पनि सन्तनेता किसुनजी आफ्नो अग्रज भएको बताए। उनले देशलाई स्वतन्त्र गराउने मामिलामा किसुनजीले खेलेको भूमिकाको प्रशंसा समेत गरे।
कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रदीप गिरि, प्रकाशमान सिंह, स्वामी आनन्द अरुण र काठमाडौं महानगरपालिकाका पूर्व मेयर पिएल सिंहले पनि सम्बोधन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।