काठमाडौं– रवीन्द्र मिश्र नेतृत्वको साझा विवेकशील पार्टीले आफूलाई साझा पार्टीको नाममा ब्रान्डिङ गर्न थालेको छ। आइतबार पार्टीद्वारा जारी विज्ञप्ति र फेसबुकमा सार्वजनिक फोटोमा पार्टीको नाम साझा पार्टी मात्रै उल्लेख छ।
त्यसअघि, जेठ २८ गते पनि सूर्यराज आचार्यले साझा पार्टीको प्रवक्ताको रुपमा प्रेस विज्ञप्ति जारी गरेका थिए। तर फेसबुकमा भने साझा विवेकशील पार्टीको फोटो समेत सार्वजनिक गरिएको थियो।
'जसरी नेपाली कांग्रेसलाई कांग्रेस मात्रै लेखिन्छ। नेकपा एमालेलाई एमाले मात्रै र नेकपा माओवादीलाई माओवादी मात्रै लेखिन्थ्यो। त्यसैगरी साझा विवेकशीललाई पनि साझा पार्टीका रुपमा ब्रान्डिङ गर्न खोजिएको हो', उक्त पार्टीका प्रवक्ता सूर्यराज आचार्यले नेपाल लाइभसँग भने।
उज्वल थापा नेतृत्वको विवेकशील पार्टीसँग एकता गरेर विवेकशील साझा पार्टी बन्नुअघि मिश्र नेतृत्वको पार्टीको नाम साझा पार्टी नै थियो। मिश्र नेतृत्वको एक समूहले २०७४ असारमा निर्वाचन आयोगमा उक्त पार्टी दर्ता गरेका थिए।
अर्को महिना अर्थात् साउन ११ गते विवेकशीलसँग एकता गर्दै पार्टीको नाम विवेकशील साझा बनाइएको थियो। सामूहिक नेतृत्वका लागि भन्दै मिश्र र थापा पार्टीको सहसंयोजक तोकिएका थिए।
तर, पार्टी एकता लामो समयसम्म टिकेन। ०७५ पुस २७ मा पूर्व विवेकशीलबाट केन्द्रीय तहमा रहेका सबैले पार्टी परित्याग गरी पुरानै पार्टीको नाममा पार्टी एकताका लागि निवेदन दिए।
मिश्र समूहको नाम भने विवेकशील साझा यथावत् थियो।
२०७६ बैशाख वैशाख ११, १२ र १३ गते बसेको केन्द्रीय समितिको पूर्ण वैठकले पार्टीको नामका शब्द हेरफेर गरेको थियो
'हालैको समयमा पार्टीबाट छुट्टिएर गएका साथीहरूले पनि ‘विवेकशील’ नाम प्रयोग गरिरहेको हुँदा प्रेस तथा आमरूपमा देखिएको अन्यौल र भ्रम चिर्न, त्यसले सृजना गरेका प्राविधिक जटिलताहरुलाई सहज बनाउन तथा धेरै शुभेच्छुकहरूको अनुरोधलाई आत्मसात गर्न पार्टीले आफ्नो नाम ‘विवेकशील साझा पार्टी’बाट ‘साझा विवेकशील पार्टी’मा परिवर्तन गर्ने निर्णय गरेको छ', बैशाख १४ गते प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले भन्यो।
त्यसयता जारी विज्ञप्तिमा पार्टीको नाम साझा विवेकशील लेखिन थाले पनि पुन साझा पार्टीको रुपमा ब्रान्डिङ गर्न थालिएको हो।
'हामीले निर्वाचन आयोगमा बुझाएको विधानमा नै पार्टीको संक्षिप्त नाम साझा पार्टी हुने भनेर बुझाएका छौं', प्रवक्ता आचार्यले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।