नयाँ दिल्ली- भारतले २८ किसिमका अमेरिकी सामानमा करवृद्धि गरेको जनाएको छ। अमेरिकाले भारतलाई दिँदै आएको व्यापार सुविधा कटौती गरेको बदलामा उक्त कदम चालिएको भारतीय अधिकारीहरुले जनाएका छन्।
भारतीय केन्द्रीय राजश्व तथा भन्सार बोर्डका अनुसार अमेरिकाबाट आयात हुने बदाम, स्याउ र ओखरसमेतका सामानमा करवृद्धि गरिएको छ।
भारत र अमेरिकाबीच पछिल्लो समय आपसी सम्बन्ध निकै प्रगाढ रहेको भनिए पनि दुबै देशले एकअर्का मुलुकका सामानमा करवृद्धि गरेका छन्। तैपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सामानलाई भारतीय बजारमा सहज पहुँच नभएको र भारतले कृषि लगायतका कतिपय क्षेत्रमा ठूलो मात्रामा अनुदान दिएर प्रतिस्पर्धी क्षमता कमजोर पारेको आरोप लगाउँदै आएका छन्।
भारतले अमेरिकी सामानमा १ सय २० प्रतिशतसम्म करवृद्धि गरेको छ।
आगामी जुन २८–२९ मा जापानको ओसाकामा हुने २० औद्योगिक राष्ट्रहरुको सम्मेलनका क्रममा पनि करवृद्धिका विषयमा भारत र अमेरिकी नेताहरुबीच छलफल हुन सक्नेछ।
सरकारी विवरणअनुसार भारतसँग अमेरिकी वस्तु तथा सेवाको व्यापार सन् २०१८ मा करिब एक खर्ब ४२ अर्ब अमेरिकी डलर बराबरको थियो। भारतसँग अमेरिकी व्यापार घाटा करिब २४ अर्ब अमेरिकी डलर छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।