काठमाडौं- नेपाली कांग्रेस नेतृत्वको सरकारले सिफारिस गरेको राष्ट्रियसभा अध्यादेश प्रमाणीकरण गर्न ढिलाइ गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध विद्यार्थीले आन्दोलन हुने भएको छ।
कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले राष्ट्रपतिविरुद्ध आन्दोलनको उद्घोष गरेको हो।
'राष्ट्रपतिको असंवैधानिक अडान' रहेको भन्दै राजधानीको प्रदर्शनीमार्गमा नेविसंघले आइतबार प्रदर्शन गर्न लागेको संघका महामन्त्री कुन्दनराज काफ्लेले जानकारी दिए। ११ बजे प्रदर्शनी मार्गमा कार्यक्रम राखिएको उनले बताए।
कांग्रेसले एमाले र माओवादी केन्द्रको दबाबमा राष्ट्रपतिले सरकारले पेस गरेको अध्यादेश रोक्नु असंवैधानिक भएको आरोप लगाउँदै आएको छ।
राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले सामान्य अवस्थामा सरकारले सिफारिस गरेको अध्यायदेशलाई स्वतः प्रमाणीकरण गर्ने भए पनि विवादित अवस्थामा सहजै प्रमाणीकरण गर्न नहुने बताएका छन्।
अध्यादेशका बारेमा राष्ट्रपतिले परामर्श गरिरहेको उनले बताए।
अध्यादेश पारित गर्ने विषयमा सहमति जुटाउन हिजो वाम गठबन्धन, मधेसकेन्द्रित र कांग्रेसका शीर्ष नेताहरुबीच बैठक बसे पनि निष्कर्षविहीन टुंगिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।