काठमाडौं- प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले गुठी विधेयक र लोकसेवा आयोगको विज्ञापनका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका थिए।
सांसद सत्यनारायण शर्मा खनालले भू-माफिया र नेपाली संस्कृति विरोधीको बहकाउमा उचालिएर सरकारले गुठी विधेयक ल्याएको भन्दै जनविरोधी विधेयक फिर्ता लिन सरकारको ध्यानाकर्षण गराए।
सांसद शान्तिमाया तामाङ पाख्रिनले लोकसेवा आयोगको विभेदकारी विज्ञापन संविधानको मुल्य र मान्यताविपरीत भएको भन्दै आगामी दिनमा नवअधिनायवादीको शैली नदोहोर्याउन सरकारको ध्यानाकर्षण गराइन्। उनले विज्ञापन खारेज गरी संविधानमा उल्लेख समानुपातिक समावेशी व्यवस्थाअनुसार विज्ञापन गर्न आग्रह गरिन्।
सांसद सीतादेवी यादवले लोकसेवा आयोगको विज्ञापनलाई सच्याई समावेशी र समानुपातिक बनाएर प्रकाशन गर्न माग गरिन्। उनले सरकारले आफैंले बनाएको संविधान मिच्ने काम गरेको आरोप लगाइन्।
बहादुरसिंह लामाले संविधानको बर्खिलापमा रहेकाले लोकसेवा आयोगको विज्ञापन तत्काल रद्द गर्न माग गरिन्। सांसद लक्ष्मी परियाले राष्ट्रिय दलित आयोगको पदाधिकारी चयनमा ढिलाई भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन्।
सांसद विना कुमारी श्रेष्ठले घरेलु श्रमिकमा श्रम ऐन कार्यान्वयन हुन नसकेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन्।
त्यस्तै सांसद विन्दा पाण्डेले घरेलु श्रमिकलाई दर्ता गर्ने र न्यूनतम पारिश्रमिक र सेवा सुविधा लागू गर्ने काम तुरुन्तै गर्न सरकारको ध्यानाकर्षण गराइन्।
सांसद समीना हुसेनले बालविवाह बढ्दै गएको भन्दै सरकारले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।