काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको जन्म जयन्तीमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख अतिथि रहने भएका छन्।
भट्टराईको नाममा स्थापित सन्तनेता कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले यसपटकको जन्मजयन्ती कार्यक्रम गर्न लागेको हो। आज दिउँसो १ बजे भट्टराई आश्रम बाडेगाउँ ललितपुरमा हुने कार्यक्रममा कांग्रेस नेताका साथै अन्य पार्टीबाट पनि अतिथिहरु आउने प्रतिष्ठानकी अमिता कपालीले जानकारी दिइन्।
भट्टराईको ९४ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ।
उनको सादगी जीवनशैली र निःस्वार्थी राजनीतिज्ञको रुपमा कांग्रेससहित अन्य पार्टीमा आस्था राख्नेहरुले समेत सम्मानपूर्वक स्मरण गर्ने गरेका छन्।
नेपाली राजनीतिमा कुर्सीमा पुगेपछि स्वार्थी बन्ने प्रवृत्तिविपरीत भट्टराईले प्रधानमन्त्री भएका बेला आफ्नो सम्पत्तिको रुपमा ट्यांका र सुराही मात्र लिएर प्रधानमन्त्री निवासबाट बाहिरिएको चर्चा अत्याधिक हुने गरेको छ।
जन्मजयन्तीको अवसरमा नेपालबाहेक अन्य देशहरुमा पनि नेपालीहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरेका छन्।
विसं १९८१ पुसमा जन्मिएका भट्टराईको २०६७ फागुनमा निधन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।