मड्रिड- स्पेनको क्याटलोनियाका अपदस्त नेता कार्ल्स पुज्डमोन्टले वार्ताका लागि गरेको आग्रहलाई प्रधानमन्त्री मारिआनो राखोइले अस्वीकार गरेका छन्।
बिहीबार भएको निर्वाचनमा पुज्डमोन्ट समर्थित पृथकतावादी पार्टीले अत्यधिक बहुमत ल्याएपछि स्पेनबाहिर भेटवार्ता गर्न उनले गरेको आग्रहलाई प्रधानमन्त्रीले शुक्रबार नै अस्वीकार गरे।
वार्ताका लागि पुज्डमोन्टले गरेको आग्रहका बारेमा पत्रकारले सोधको प्रश्नमा प्रधानमन्त्री राजोइले भने, 'निर्वाचन जितेको मध्ये म एक जनालाई मात्रै भेट्न सक्छु। उहाँ आइनिस अरिमाडास हुनुहुन्छ।'
क्याटलोनियामा नयाँ बन्ने सरकारले पूर्ण रुपमा कानुनको पालन गर्ने विश्वास पनि उनले व्यक्त गरे। उनको यो भनाइ गत अक्टोबर १ मा छुट्टै राज्य बनाउने पक्षमा भएको जनमत संग्रहपछि भएको संविधानविरोधी कदमप्रति लक्षित थियो।
क्याटलोनियाका सांसदहरुले स्वतन्त्र राज्यको घोषणा गरेपछि केन्द्रीय सरकारले तत्काल हस्तक्षेप गरी त्यहाँको संसद विघटन गरिदिएको थियो।
आफैले संसद विघटन गरिदिएकाले बिहीबार केन्द्रीय सरकारले नै क्याटलोनियाको नयाँ संसदका लागि निर्वाचन गराएको हो।
प्रधानमन्त्री राखोइले सकारात्मक र व्यवहारिक वार्ता गर्न आफू सधै खुला रहेको तर आफ्ना पनि केही कानुनी सीमाहरु रहेको बताए। एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।