भरतपुर– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेसँगको पार्टी एकतापछि प्रधानमन्त्री र पार्टी अध्यक्ष पदमा आलोपालो प्रणाली अपनाउने भद्र सहमति भएको बताएका छन्।
शुक्रबार दिउँसो चितवन पुगेका प्रचण्डले भरतपुर विमानस्थलमा पत्रकाहरुसँग चुनावअघि वाम गठबन्धन निर्माण गर्ने क्रममै पार्टी एकतापछि प्रधानमन्त्री र अध्यक्ष पदमा आलोपालो गर्ने सहमति भएको बताएका हुन्। उनले शनिबार पार्टी एकता संयोजन समितिको बैठक बसेर एकताको विषय टुंग्याउनेतर्फ छलफल गर्ने बताए।
प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको ५ दलीय वार्तामा सामेल भएलगत्तै चितवन पुगेका प्रचण्डले राष्ट्रियसभा समावेशी चरित्रको हुनुपर्ने बताए।
‘राष्ट्रियसभा समानुपातिक र समावेशी चरित्रको हुनुपर्छ,’ प्रचण्डले भने, ‘राष्ट्रियसभाको विषयमा अहिले पनि प्रमुख तीन दलबीच छलफल चलिरहेको छ। आज प्रधानमन्त्रीले बोलाउनु भएको बैठकमा पनि यस विषयमा कुराकानी भयो, तर सहमति जुट्न सकेन। छलफल आवश्यक छ, भइरहनुपर्छ।’
राष्ट्रियसभा गठन गर्ने विधि बहुमतीय प्रणालीभन्दा एकल संक्रमणीय प्रणाली बढी समावेशी हुने उनको भनाइ थियो। उनले संविधानमा प्रस्ट शब्दमा कुनै एक प्रणाली उल्लेख नहुँदा अहिले राष्ट्रियसभा गठनमा जटिलता आएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।